Prakash Adhikari November 14, 2019

काठमाडौं, २८ कार्तिक । सत्ता र शक्तिको आडमा व्यवसायीलाई थर्काएर पैसा असुल्ने ठगहरुको साथ लागेर प्रतिष्ठित उद्योगपति एवम् व्यापारिक घराना ज्योति परिवारका सबै सदस्यलाई जेलपुर्याउने गलत मनसायले डा. रूप ज्योतिसहित उनकी छोरी सुरुचि,दाजु पद्म ज्योति र परिवारका अन्य सदस्यको विरुद्ध दिएको जाहेरी फिर्ता लिन विजेन्द्रकृण मल्लले प्रहरीसमक्ष निवेदन दिनुभएको छ।

पूर्व अर्थ राज्यमन्त्रीसमेत रहनुभएका ज्योति समूहका उपाध्यक्ष डा.रूप ज्योतिसहित उहाँको परिवारविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगीको जाहेरी दिएपछि प्रहरीले एकहप्ता पहिले डा. ज्योति र उहाँकी सुपुत्री सुरुचिलाई सिंगापुरबाट नेपाल फर्कदा एअरपोर्टमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलोपटक ३ दिन र दोस्रोपटक ५ दिन म्याद थपेको छ ।

थपिएको म्याद आज बिहीबार सकिनु पहिले बुधबार नै मल्ल जाहेरी फिर्ता पाऊँ भन्ने निवेदन प्रहरीकहाँ दर्ता गर्नुभएको थियो

रूप ज्योतिले आफूविरुद्ध ठगीको उजुरी परेर अदालतले जारी गरेको पक्राउ आदेशविरुद्ध सर्वोच्च अदालतबाट निषेधाज्ञा ल्याएपछि आफूमाथि भुक्तानी नदिएको आरोप लागेको १ करोड २६ लाख रुपैयाँ मल्ललाई बुझाउन अदालतमा जम्मा गर्नुभएको थियो ।

पैसा बुझ्ने सीई कन्स्ट्रक्सनका प्रमुख शम्भु फूयाँल र सो कम्पनीका कोही विरुद्ध उजुरी नपर्नु, ज्योति घरानाका सबैलाई मुछ्नु, रकम फिर्ता लिने निहुँमा राजनीतिक शक्तिकेन्द्रको सहयोग लिएर उपराष्ट्रपति र गृहमन्त्रीलाई विवादमा तान्न खोज्नु, देवानी प्रकृतिको मुद्दामा फौजदारी प्रकृतिको मुद्दामा जसरी पक्राउ आदेश जारी गराउन जिल्लादेखि सर्वोच्च अदालतमा दुई तिहाइको कम्युनिष्ट सत्ताको दुरुपयोग गराउनु र सिंगो उद्योग एवं वाणिज्य क्षेत्रबाट सत्ताको आडमा नैतिकतामा अड्ने घरानिया व्यापारीलाई दुःख दिन खोजेको प्रमाणित भएपछि विजेन्द्रकृष्णमाथि जाहेरी फिर्ता लिन दबाब बढेको बताइन्छ ।

सत्ता र शक्तिको आडमा देशभर उद्योगी,व्यापारी, निर्माण व्यवसायी, यातायात व्यवसायी, ढुवानी व्यवसायी, घरजग्गा कारोबारी लगायत उद्यमीहरुलाई सताउने क्रम बढेको गुनासो सबैक्षेत्रबाट आएपछि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शको आह्वानमा बिहिबार राजधानीमा विशाल प्रदर्शनी पनि भएको थियो ।

काठमाडौं उद्योग बाणिज्य संघले ब्यवसाययोग्य वातावरण बनेर उद्योगी,उद्यमी र व्यापारी तथा व्यवसायीहरु सुरक्षित हुने अवस्था सिर्जना नभएसम्म विरोधका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरेको थियो ।

सत्ता र शक्तिको दुरुपयोगबाट प्रहरी,प्रशासन,अदालत प्रभावित हुन गई सत्तारुढ दलका नेताहरु र सो दलबाट निर्वाचित भएका राष्ट्रका सम्माननीय व्यक्तिहरु पनि विवादमा पर्न थालेपछि विजेन्द्र्रमाथि ज्योति घरानाविरुद्धको जाहेरी फिर्ता लिन दवाव परेको बताइन्छ ।

Share Now

Leave a comment.