आबुधावी(संयुक्त अरब इमिरेट्स), ३० कार्तिक । संयुक्त अरब इमिरेट्स(युएई)को आबुधाबीमा शुक्रबारदेखि सुरु भएको आबुधाबी टि१० लिग अन्तर्गतको खेलमा नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले आफ्नो डेब्यू खेलमा ३ रन बनाएका छन् ।
पारसले खेलमा अविजित ३ बलमा ३ रन बनाउन सके।
१० ओभरको खेलमा टिमको ४ विकेट गुमे पछि नबौ ओभरमा पारसलाई टीम आबुधाबीले ब्याटिंग गर्न मैदानमा उतारेकोे थियो । पारसले नवौं ओभरको अन्तिम बलमा पहिलो बल खेल्ने मौका पाएका थिए।

आफुले सामना गरेको पहिलो बलमा जोर्डन क्लार्कको बलमा पारसले लांग अनमा ड्राइभ गर्दै २ रन लिए। सीजे एण्डरसनसंगको साझेदारीमा रहेका पारसले अन्तिम ओभरको चौथो बलसम्म खेलर एण्डरसन आउट भएपछि पाँचौ र छैठौ तथा अन्तिम बल ब्याटिड. गर्ने अवसर पाए । पाँचौ बलमा पारसले रन बनाउन सकेनन्। त्यसपछि अन्तिम बलमा पारसले १ रन लिए। सो क्रममा दोश्रो रन लिन चाहेका डी लांगेलाई पारसले रोकेपछि उनी रन आउट हुन पुगे। अन्तिम बलमा दोश्रो रन लिने निर्णय ढिलो गरेकोमा कमेन्टेटरले पारसको आलोचना गरेका थिए।
पारस आबद्ध टीम आबुधाबी र कलन्दर्स बीचको शुक्रबारको खेल बरबारीमा टुंगिएको छ।
खेलमा नेपाली क्रिकेटर पारस खड्का आबद्ध रहेको आबु धाबीले पहिले ब्याटिंग गर्दै १ सय ३ रन बनाएको थियो । १ सय ४ रनको लक्ष्य पछ्याएको कलन्दर्सले पनि १० ओभरमा ३ विकेट गुमाएर १ सय ३ रन बनायो। लिग चरणको खेल भएकोले सुपर ओभरमा लगिएन । दुवै टीमले अंक बाडेका छन् ।
क्वालन्दर्सका लागि शुक्रबारको खेलमा डीजे मलान ३३, लुक रोची २३,फिल साल्ट २२,टोम वान्टनले १५ र सेकुगे प्रसन्नाले १ रनको योगदान दिए ।

क्वालन्दर्सलाई रोक्ने क्रममा टीम अबुधावीका मर्चेन्ट डे लंगाले २ , रिचर्ड ग्लिसनले १ विकेट लिए ।१० ओभरको छोटो खेल भएकोले नेपाली अलराउण्डर पारस खड््काले बलिड.मा भने अवसर पाएनन् । मर्चेन्ट डे लंगा, रिचर्ड ग्लिसन, बेन लंगीन,ह्यारी गुर्ने र रोहन मुस्तफाले मात्र अवसर पाए ।
यस अघि पहिले ब्याटिंग गर्ने क्रममा टीम आबधाबीले १० ओभरको निर्धारित खेलमा ६ विकेट गुमाएर १सय ३ रन बनाएको थियो। अबुधाबीका लागि कोरे एण्डरसनले सर्वाधिक ४३ रन, लुक राइटले २०, निरोशन डिकवेलाले १७ रन, एल ग्रेगोरी ११,मोइन अलीले ७ र नेपाली अलराउण्डर पारस खड्काले ३ रनको योगदान दिए।
कलन्दर्सको बलिङ्गमा लाहिरु कुमाराले सर्वाधिक २ विकेट तथा एस प्रसन्ना, सीजे जोर्डन र जे क्लार्कले समान १ । १ विकेट लिए।
आबुधावी टी १० लिग अन्तर्गत पारसको टिम आबुधाबीले अर्को खेल आइतबार नर्थर्न वारियर्ससंग ५ :४५ बजे बेलुका खेल्नेछ।
आज नेपाली साँझ नेपाल क्रिकेट स्टार सन्दिप लामिछानेको कर्नाटका टस्कर्सको पहिलो खेल रहेको छ। सन्दिपको टिम कर्नाटकाले शनिवार राति ७ ः३० बजे दिल्ली बुल्ससंग खेल्दैछ। अघिल्लो पटकको टी १० मा राम्रो प्रदर्शन गरेका सन्दीपको प्रदर्शन कस्तो होला ? नेपाली क्रिकेटप्रेमीहरुले अधीरतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।


















