ललितपुर, ३० कार्तिक । जिल्ला अदालत रौटहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई शुक्रबार राती ललितपुरको नख्खु कारगार ल्याइएको छ।
आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि उहाँलाई अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्याइएको हो।
आलमले डिल्लीबजार सदरखोरमा बस्ने चाहना राख्नुभएको थियो तर गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उहाँलाई नख्खु कारागारमा राख्ने बन्दोबस्त भएको हो।
रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनछेक बहसपछि शुक्रबार पछि ठहरेबमोजिम हुनेगरि पूर्वमन्त्री आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ।
अदालतले आलमलाई सुरक्षाका दृष्टिकोणले जिल्ला कारागार रौतहट राख्नु अनुपयुक्त हुने भन्दै साक्षी बकपत्र र मुद्दाको पूर्पक्षको समयमा अदालतमा अनिवार्य उपस्थित गराउने गरी उपयुक्त कारागारमा स्थानान्तरण गर्न अनुमति दिइएको थियो ।
पूर्वमन्त्री आलमले अदालतमा बयान दिँदा आफू मधुमेह र उच्च रत्तलचापको बिरामी भएको भनेर डाक्टरको रिपोर्ट पेश गरेकाले अस्पतालमा नियमित उपचार गराउन पनिअदालतले आदेश दिएको छ ।
साथै अदालतले जाहेरवाला, पीडित र सरकारका साक्षीहरुलाई संरक्षण गहृमा राख्न पनि प्रहरीलाई संरक्षणात्मक आदेश दिएको छ।
प्रहरीले एक दशक पुरानो बम विष्फोटनसम्बन्धी मुद्दामा पूर्वमन्त्री आलमसहित ११ जनालाई प्रतिवादी कायम गर्दै गत सोमबार मुद्दा बुझाएको थियो ।


















