Prakash Adhikari November 20, 2019

काठमाडौं, ४ मंसिर । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका ५ सय ९९ खेलाडीले २८ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । चयन भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताउनुभयो ।

नेपालबाट ३ सय १२ पुरुष र २ सय८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताउनुभयो ।

‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं,’ उहाँले भन्नुभयो ।

नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्र्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ ।

समितिले फेन्सिङ्ग, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेलहरु गरी २१ खेलका खेलाडी बैदेशिक प्रशिक्षणमा सहभागी भएको र केहि वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको थियो ।

सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्धि समेत हासिल गरेको समितिले जनाएको छ ।
कराँतेले दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो । महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ काश्य जितेको थियो । पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको थियो ।

विश्व तेक्वान्दो हान्मादाङ्ग च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो । त्यसैगरी चाईना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ ।

सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्य सुशिल नरसिंह राणाले बताए ।
पत्रकार सम्मेलनमा डा. प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकोले १३ औं सागमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संयोजक रानाभाटले नेपालले तयारीका लागि कुनै कसर बाँकी नराखेको बताउँदै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसपटक प्याराग्लाईडिड. खेलमा प्रतियोगितामा परेको छैन् । सागमा प्रतियोगितामा समावेश हुन कम्तीमा ४ देशले खेलमा प्रतिस्पर्धा गर्नुपर्ने नियम बनेको छ । यसमा प्रतिस्पर्धा गर्न अन्य मुलुक तयार नभएकोले नेपालले स्वर्ण जित्ने एक खेल प्रतियोगिताबाट बाहिर परेको छ । नेपाल पाराग्लाइडिङमा बलियो छ ।

अब २८ खेलमात्र हुनेछन् । दुई खेल अन अफिसियल भएकाले २६ खेलमा मात्र पदकको भिडन्त हुनेछ ।

Share Now

Leave a comment.