कीर्तिपुर(काठमाडौं),१७ मंसिर(बीबीसी) ।नेपालमा आयोजित १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष टी २० क्रिकेटमा श्रीलङ्काले नेपाललाई छ विकेटले पराजित गरेको छ।
नेपालबाट १ सय ७३ रनको लक्ष्य पाएको श्रीलङ्काले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ७२ रन बनाएपछि नेपालले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।
सागको क्रिकेट प्रतियोगितामा श्रीलङ्काको २३ वर्षमुनिका खेलाडीहरूको टोलीले भाग लिइरहेको छ।
श्रीलङ्काले सुरुदेखि नै आक्रामक खेलेको थियो। पहिलो विकेटका लागि तीन ओभरमा ३६ रन जोडेपछि लगातार तीन विकेट गुमाएर केही दबावमा देखिएको थियो।
पवन सर्राफ, सोमपाल कामी र सुसन भारीले एक(एक विकेटले लिएपछि श्रीलङ्का ४९ रनमा तीन विकेटको स्थितिमा पुगेको थियो।
तर निशान फर्नान्डो र शम्मु असानले अविस्मरणीय ब्याटिङ् गरे।
फर्नान्डोले ४६ बनाए भने असानले ४४ बलमा नटआउट ७२ बनाए।
यस अगाडि काठमाण्डूको कीर्तिपुर रङ्गशालामा भएको खेलमा श्रीलङ्काले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको थियो।
पूर्वकप्तान पारस खड्का एक रनमै आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेख केही बेर टिकेका थिए।
मल्लले २१ र शेखले १९ रन बनाए।
खेलमा उपकप्तान ऐरीले सानदार ब्याटिङ गर्दै ४४ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए। उनले ३४ बलमा अर्धशकत बनाए।
उनलाई विनोद भण्डारी र पवन सर्राफले साथ दिएका थिए।
भण्डारीले २१ र सर्राफले १३ बलमा २२ रन बनाए।
श्रीलङ्काका लागि कामिन्डु मेन्डिसले दुई विकेट लिए।


















