कीर्तिपुर(काठमाडौं), २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तरगत नेपालले अहिले बङ्गलादेशसँग खेलिरहेको छ । जसमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
जारी प्रतियोगितामा नेपालको लिग चरणको अन्तिम खेल हो। बलियो टिम बङ्गलादेशसँग नेपालको लक्ष्य जित रहेको छ।
आफ्नो चौथो खेल बंगलादेशविरुद्ध खेलेपछि नेपालले आइतबार श्रीलंकासंग लिग चरणको अन्तिम खेलमा खेल्नेछ। यदी नेपालले बंगलादेश यु(२३ लाई पराजित गर्न सकेमा नेपालको स्वर्ण पदकको लागि फाइनल खेल्ने सम्भावना रहन्छ।
बंगलादेशसंग पराजित भएको खण्डमा भने नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। श्रीलंकाले हालसम्म ३ वटै खेल जितेकोले फाइनल खेल्ने पक्का जस्तो रहेको छ।
माल्दिभ्सविरुद्ध शानदार जित
पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनको ठुलो अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।
साग अन्तर्गत नेपालले आफ्नो खेलमा श्रीलंका यु २३ संग ६ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गरेको थियो।
टियु मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको हो।
माल्दिभ्सको लागि मोहमद आजमले सर्वाधिक १७, मोहमद रिश्वानले १३, इब्राहिम हसनले १२ तथा अलि इभानले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा देब्रे हाते स्पिनरद्वय सुशन भारि र ललित राजबंशीले समान २ । २ विकेट लिए। पवन सर्राफले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।
टस जितेर ब्याटिंग गर्ने क्रममा नेपालले सुरुवात देखि लगातार विकेट गुमाएको थियो। पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७, रोहित पौडेलले १०, पवन सर्राफले ० , बिनोद भण्डारीले १९ रन बनाए। चौथो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले ३९ रन बनाए।
माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वाधिक ३ विकेट तथा अमिल मौरुफले २ विकेट लिए।


















