पोखरा(कास्की), १ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण अन्तरगत सोमबार भएको खेलमा चितवन राइनोजले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै पोखराले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
चितवनको जितमा हंगकंगको क्रिकेट टीमका पूर्व कप्तान बाबर हायातले विष्फोटक ब्याटिंग गरे। उनले अविजित ६६ रन बनाए । खेलमा भारतका सन्नी पटेलले अविजित १८ रन बनाए। खेलमा रोहन मुस्तफा ११ रन, , कप्तान पारस खड्का ४ रन तथा आरिफ शेख १ रनबनाएर आउट भएका थिए भने अनिल साहले खाता खोल्न सकेनन् ।
चितवन राइनोजलाई रोक्ने क्रममा पोखराका राशिद खान र सर्वजित लड्डाले २। २ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।
कमजोर सुरुवात गरेको पोखराका ओपनर कुशल भुर्तेल ५ तथा आसिफ शेख १० रन बनाएर आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका कुशललाई सन्नी पटेलले एलबिडब्लु आउट गरे भने आसिफलाई बिक्रम सोबले क्याच आउट गराए। आशा गरिएका रवि इन्दर सिंह पनि १० रन बनाएर आउट भए । टिम कप्तान शरद भेषवाकरको धैर्यताले पोखरालाई राहत दियो । उनले ४५ रन बनाए । अन्य खेलाडीहरुमा बिनोद भण्डारी ७ रन, कुशल मल्ल १३ रन तथा रोहित पौडेल खाता नखोली आउट भए।
पोखरालाई रोक्ने क्रममा चितवनका रोहन मुस्तफा, भुवन कार्की र सन्नी पटेलले समान २ ।२ विकेट हात पारे।बिक्रम सोब, करन केसी र टिम कप्तान पारस खड्काले १।१ विकेट लिए।
पोखरा प्रिमियर लिगको जारी संस्करणमा चितवनले पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको पोखरा भने चितवनसंग ६ विकेटले पराजित भएको छ।