काठमाडौँ, १ पौष । नेपालको राष्ट्रिय ध्वजावाहक विमान सञ्चालन गर्ने नेपाल वायु सेवा निगमलाई सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त भएको छ । ‘एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ले प्रदान गर्ने सम्मान सोमबार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ग्रहण गर्नुभएको छ।
निगमलाई निर्धारित लक्ष्य अनुरुप सञ्चालन गर्न असमर्थ रहनुभएका अध्यक्ष खरेल भने यो शुभसमाचारसंगै निगमबाट बिदा लिने अवस्थामा हुनुहुन्छ । नेपाल भ्रमण बर्ष २०२० मा उहाँको जस्तो लवस्तरो पाराले राष्ट्रिय ध्वजाबाहक विमानले लक्षित पर्यटक ल्याउन नसक्ने निश्कर्षसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उहाँलाई बिदा दिने मनस्थितिमा पुग्नुभएको छ ।
मन्त्री निकट सूत्रहरुका अनुसार मन्त्रीले उहाँलाई सम्मानजनक बहिर्गमनको मार्ग प्रशस्त गर्नका लागि केही दिन प्रतिक्षा गर्नुभएको छ । यसका लागि कार्यकारी अध्यक्षले नयाँ गन्तव्यको रुपमा जापानको राजधानी टोकियो निकट रहेको नारिता अन्तराष्ट्रिय विमानस्थल र चीनको ब्यापारिक शहर ग्वान्जाओमा आगामी मार्चदेखि उडान आरम्भ गर्ने घोषणा उहाँले गरिसक्नु भएको छ ।
निगमको बेडामा एअरवसका ठूला आकारका दुई ३३० २४३ सेरिजका वाईडबडी जहाज ल्याउने बिजनेस प्लानमा नै यी गन्तब्यहरु उल्लेख गरिएका थिए । र निगमले ग्वान्जाओमा उडान सुरु गर्न झण्डै डेढबर्ष पहिले नै स्टेशन म्यानेजर पठाइसकेको थियो । तर घोषणा गरिएका गन्तब्यमा कुन मितिदेखि उडान सुरु गरिने हो त्यसको घोषणा नभएकोले यो कार्यकारी अध्यक्षलाई सुखद् बहिर्गमनको लागि दिइएको एक सहुलियत द्धारको रुपमा हेरिएको छ ।
एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरलेले ४ सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको जानकारी दिइएको बताए पनि निगमले आफै स्पोन्सर गरेर कार्यकारी अध्यक्षको नाक राख्न यो सम्मान लिने बन्दोवस्त मिलाएको दाबी निगमका उच्च व्यवस्थापकहरुले गरेका छन् ।
वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो अवार्ड विजेता एअरलाइन्स छनोट गरिने बताइन्छ । तर निगमको खाना, सीट, निगमको अकुपेन्सीमा आजसम्म निरन्तर प्रश्न उठिरहेको निगमलाई प्राप्त यस अवार्डले अन्य विलासी एअरलाइन्समा यात्रा गरेकाहरु भने आश्चर्य चकित छन् । यो अवार्ड यसअघि थाइ एयर र फिन एयरले पाएका छन् ।
निगमका कार्यकारी अध्यक्ष खरेलका लागि बिदा लिने यो उपयुक्त मौका हो । उहाँले ढिठ्याई गरेमा उहाँलाई बर्खास्त गर्ने मुडमा मन्त्री भट्टराई पुगिसक्नु भएको छ । उहाँमाथि प्रधानमन्त्रीको धाक दिएर मन्त्री र उहाँको टिम तथा मन्त्रालयलाई तृण बराबर नगनेर आर्थिक लाभका लागि स्वेच्छारी ढंगबाट नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल एअरलाइन्स चलाउने दुस्साहस गरेको गम्भीर आरोप लागेको छ ।


















