Prakash Adhikari December 18, 2019

पोखरा(कास्की),२ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत भएको चौथो दिनको पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ।

खराब मौसमका कारण पोखरा रंगशालास्थित क्रिकेट मैदानमा करिब १ घण्टा ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो।

टस हारेर ब्याटिंग गरेको काठमाडौँले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाउदै १ सय ८६ रनको लक्ष्य दिएको थियो।

१ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

धनगढीको लागि रोड्रीगो थोमसले १० तथा श्रीमंथा विजयरत्नेले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। सन्दीप सुनार खाता नखोली आउट भए भएन कप्तान दिपेन्द्र ऐरी ८, सन्दिप जोरा ७, अमित यादव ३, सौरभ खनाल ९ रन बनाएर आउट भए।

धनगढीलाई सस्तोमा समेट्न काठमाडौँका देब्रे हाते स्पिनर बसन्त रेग्मीले सर्वाधिक ३ विकेट तथा सुबोध भाटी र पवन सर्राफले समान २। २ विकेट लिए। अमृत भट्टराई र सुशन भारिले १ ।१ विकेट लिए।

यस अगाडि काठमाडौँले १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार गरेको थियो।

काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले १०० रन बनाए। उनी पीपीएलको दोस्रो संस्करणमा शतक बनाउने पहिलो खेलाडी हुन । उनले मात्र ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गरे। यस्तै जयकिशन कोल्सावालाले ४६ तथा अमित श्रेष्ठले ३४ रन बनाए।

काठमाडौँका ओपनर गौरभ तोमर खाता नखोली पहिलो ओभरमा कमल सिंह ऐरीबाट आउट भए भने गौरब तोमारलाई शुुन्य रनमा गुमाएको काठमाडौंको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए ।

यी दुईकाबीचमा ५१ रनको साझेदारी भएको थियो । अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पूरा गरे ।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले शतक बनाउँदा ९ छक्का र ८ चौका प्रहार गरे । शतक प्रहार गरे लगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए । यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६रन बनाएर बाहिरिएका थिए । उनले ४६ रन बनाउँदा ४ चौका र २ छक्का प्रहार गरे । पाँचौं विकेटको रुपमा शुवोध भाटी आउट भए । उनले खाता नै खोल्न सकेनन् ।

काठमाडौंलाई रोक्ने क्रममा धनगढीका कमलसिंह ऐरीले ४ विकेट र सागर ढकालले १ विकेट लिए ।

खेलमा प्लेयर अफ द म्याच ज्ञानेन्द्र मल्ल चुनिए। यस अघि पहिलो २ खेलमा पोखरा राइनोज र बुटवल ब्लास्टर्ससंग पराजित भएको काठमाडौँको यो पहिलो जित यो।

अघिल्लो खेलमा बिराटनगर टाईटन्सलाई पराजित गरेको धनगढीको यो दोश्रो खेल खेल्दा पहिलो हार हो।

Share Now

Leave a comment.