पोखरा(कास्की), ७ पौष । पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको सम्पन्न खेलमा साविक विजेता पोखरा पोखरा पल्टन एक्सपर्ट धनगढी ब्लुजद्धारा ५ विकेटले पराजित हुँदै प्रतियोगिताबाट सबैभन्दा पहिले बाहिरिएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न सोमबारको खेलमा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ५ विकेटको क्षतिमा गुमाएर ९.१ ओभरमै पूरा गर्यो।
धनगढीको लागि ओपनर दिपक पुनियाले सर्वाधिक २५, रोड्रिगो थोमसले १५, दिपेन्द्र ऐरीले १३,शुबेन्दु पाण्डेले ११, मन्जित श्रेष्ठले ९ , अमित यादवले ६ र सन्दिीप जोराले २ रन बनाए।

धनगढीलाई रोक्ने क्रममा पोखराका प्रथमेश डाके र सर्वजित लड्डाले समान २ । २ तथा ललित राजवंशीले १ विकेट लिए ।
यस अघि खेलमा टस जितेर ब्याटिंग रोजेको पोखरा पल्टनले १६.३ ओभरमा ७९ रनमा सबै विकेट गुमाएको थियो।
सुरुदेखि आक्रामक ब्याटिंग गर्न खोज्दा पोखराका धेरै खेलाडी विकेट गुमाउन पुगे ।
पोखराको लागि आसिफ शेखले सर्वाधिक ३२ रन तथा बिनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ६, शरद भेसावकर ४, कुशल मल्ल २ , कृष्ण कार्कीले १ रन बनाए भने रभी इन्दर सिंह र रोहित पौडेल खाता नखोली आउट भए।
पोखरालाई रोक्ने क्रममा धनगढीका अनिल खरेलले ३ तथा दिपक पुनिया, कमल सिंह ऐरी र सागर ढकालले समान २ । २ विकेट लिए।

सोमबारको जितपछि धनगढी अंक तालिकाको उत्कृष्ट ३ भित्र पर्दै प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ। डिफेन्डिङ च्याम्पियन पोखरा भने ५ खेलमा मात्र १ जित हात पार्दै अंकतालिकाको पुछारमा रह्यो।
अब धनगढीको प्लेअफ पुग्ने नपुग्ने निर्णय भोलि हुने काठमाडौँ गोल्डेन वारियर्स र चितवन राइनोजको खेल पछि हुनेछ।
काठमाडौँले चितवनलाई पराजित गरेको खण्डमा धनगढीको सम्भावना समाप्त हुनेछ। भोलि काठमाडौँ जिते बिराटनगर टाईटन्सको पनि प्लेअफ सम्भावना समाप्त हुनेछ।
काठमाडौँ पराजित भएको खण्डमा काठमाडौँ र धनगढीको अंक समान ४-४ हुनेछ जसपछि नेट रनरेटमा उत्कृस्ट हुने टिम तेश्रो स्थानमा रही इलिमीनेटरको लागि छनौट हुनेछ। नेट रनरेटमा काठमाडौँ १.३०१ धनगढी १.७९९ भन्दा निकै पछि रहेकोले काठमाडौँ निकै ठुलो अन्तरले पराजित भएमा मात्र धनगढीको सम्भावना रहन्छ।
यदी भोलि काठमाडौँ जित्यो र त्यसपछि लिगको अन्तिम खेलमा बिराटनगर टाईटन्सले बुटवललाई पराजित गरेमा काठमाडौँ, बिराटनगर र धनगढी मध्ये नेट रनरेटमा अघि हुने टिम प्लेअफ प्रवेश गर्नेछ।
यस अघिनै चितवन ४ वटा खेलमा जितेर तथा बुटवल ३ जित र १ हार बेहोर्दै प्लेअफ पुगिसकेका छन्।


















