Prakash Adhikari December 23, 2019

काठमाडौं, ७ पौष । नेपाल प्रहरीले सोमबार एकै दिन राजधानीका विभिन्न क्षेत्रबाट १ सय २२ जना चिनियाँ नागरिकलाई शंकास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बालाजु, महाराजगञ्ज र बुढानिलकण्ठमा रहेका आलिसान घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख डीआईजी निरजबहादुर शाहीले छापा मारेका घरहरुबाट ठूलो संख्यामा ल्यापटप र मोबाईल लगायतका सामाग्री नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताउनु भएको छ।

चीनमा अनलाईन जुवा खेलाउने, अनलाईन मार्फतै युवतीहरुका अश्लील तस्बिर र भिडियो देखाउने देखि बैंकको एकाउण्ट ह्याक गरेर पैसा निकाल्ने समेत गरेको समुह सोमबार काठमाडौंमा पक्राउ परेको हो।

आफ्ना नागरिकहरु तेस्रो देशमा बसेर चीनमा अनलाईन अपराध गरिरहेकोले चिनिया राजदूतावासको अनुरोधमा नै नेपाल प्रहरीले चिनिया नागरिक विरुद्ध ठूलो अपरेशन गरेको बताइएको छ ।

केही दिनअघि चीन सरकारको अनुरोधमा फिलिपिन्समा यस्तै प्रकृतीको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। यस्तै कम्बोडिया भियतनाम, लाओस, इण्डोनेसिया र मलेसिया लगायत देशमा समेत यस्तै प्रकृतीको अपराध बढेपछि चिनिया दूतावासको अनुरोधमा कारबाही अघि बढेको थियो। त्यहाँबाट भागेको समूह नेपालमा सक्रिय रहेको सूचनापछि कारबाही सुरु भएको हो।

प्रहरीले नियन्त्रणमा लिइएका १ सय २२ जनालाई सोमबार राति वृत्तहरु र परिसरमा राखेर थप सोधपुछ गरिने छ।

प्रहरी टोलीले बाँसबारीका दुई घर, मनमैजुका तीनवटा र बुढानिलकण्ठस्थित एउटा घरमा छापा मारेको थियो ।

प्रहरी उच्च अधिकारीका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति पर्यटक भिषामा नेपाल आएर अवैध कारोबारमा संलग्न छन्।
उनीहरुलाई सरकारले चीन नै फिर्ता पठाउने तयारी समेत गरिरहेको छ।

नेपालमा एकै दिनमा यति धेरै सङ्ख्यामा चिनिया नागरिक अपराधिक क्रियाकलापमा सक्रिय रहेको आशंकामा पक्राउ गरेको यो पहिलोपटक हो ।

Share Now

Leave a comment.