Prakash Adhikari December 23, 2019

रियाद(साउदी अरेबिया),७ पौष(बीबीसी) । साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन्।

सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएकोमा मुद्दा दायर गरेका थिए।

साउदी अरबले सुरुमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।

ठूलो अन्तर्राष्ट्रिय दबावपछि खशोग्जीको हत्यामा साउदी राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्टहरूले गरेको’ आरोप लगाएको थियो।

संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका थिए।

तर बन्द ढोकाभित्र भएको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरिएको र साउदी प्रशासनले अर्थपूर्ण जवाफदेहितामा बाधा पुर्याएको ह्युमन राइट्स वाचले बताएको छ।

जमाल खशोग्जीको हत्या भएको एक वर्ष

को हुन् जमाल खशोग्जी?

खशोग्जी एक चर्चित पत्रकार थिए। उनले अफगानिस्तानमा सोभियत सङ्घको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचारसंस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे।

तर पछि उनको राजपरिवारसँग सम्बन्ध बिग्रियो र उनी अमेरिका निर्वासनमा गए।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले। त्यसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

Share Now

Leave a comment.