Prakash Adhikari January 6, 2020

काठमाडौं, २१ पौष । काण्डै काण्डमा जेलिएको नेपालको राष्ट्रिय ध्वजाबाहक विमान सेवा सञ्चालन गर्ने नेपाल वायुसेवा निगममा फेरि दोहाको जीएसए काण्ड सतहमा आएको छ ।

नेपालबाट सञ्चालित हुने अन्तर्राष्ट्रिय हवाई सेवामा निगमको मात्र एकलौटी बजारको रुपमा रहेको कतारको दोहा हाल कार्यरत फाहद ट्राभल्सलाई नै निरन्तरता दिन खोजेपछि निगमको सञ्चालक समितिको बैठकमा उड्डयन क्षेत्रका विज्ञको रुपमा नियुक्त गरिनुभएका सञ्चालक अच्युत पहाडीले नोट अफ डिसेन्ट नै लेख्नुभएको छ ।

निगमको उच्चसूत्रले दिएको जानकारी अनुसार गत पौष १३ गते बसेको बैठकमा व्यवस्थापनका तर्फबाट अध्यक्ष मदन खरेलले दोहाको जनरल सेल्स एजेन्ट फाहद ट्राभल्स र ताइवानको अफलाइन जीएसए ओभरसिज ट्राभल्स लिमिटेडको जीएसएको अवधि डिसेम्बर ३१ सम्म रहेको र तत्काल नवीकरण नगरेमा बैंक जमानत लगायतका विषयमा जटिलता उत्पन्न हुने भएकोले दुवैको म्याद २ बर्ष थप गर्न प्रस्ताव गर्नुभएको थियो ।

तर बोर्डका सञ्चालक अच्यूत पहाडीले सो कम्पनीलाई २००८ र २००९ मा एकएक पटक ३ । ३ महिना, २००९ मा १ बर्ष, २०१० मा १४ महिना, २०१५ देखि ४ बर्षको नवीकरण भैरहेको देखिएकोले बिना प्रतिस्पर्धा दिन नहुने प्रस्ताव राख्नुभएको थियो । उहाँले अत्यावश्यक नै परेको भए ३ महिना थप गरेर यसबीचमा प्रतिस्पर्धाबाट नयाँ जीएसए नियुक्त गर्ने प्रक्रिया थालनी गर्न पनि सुझाब दिनुभएको थियो ।

उहाँले निर्णय पुस्तिकामा जनाउनुभएको असहमतिको टिप्पणी अनुसार हाल दोहामा निगमको एअरबसको ३३० २४३ सेरिजका वाइडबडीका २ सय ७४ सीट युक्त जहाज सञ्चालन भैरहेको र नेपाली भूमिबाट चल्ने जहाजको एकलौटी ब्यापार स्थानीय जीएसएले पाउने भएकोले यसमा प्रतिस्पर्धा गर्दा निगमलाई सस्तोमा नयाँ कम्पनी सेवा दिन आउने निश्चित छ । उहाँले गत बर्षमात्र फाहदले साढे १२ करोड बराबरको कमिशन र इन्सेन्टिभ निगमबाट बुझेको उल्लेख गर्दै बार्षिक ३ । ४ करोडको नाफा लिने व्यवस्था हुने गरी कमिशन रेट र प्रोत्साहन तयार पार्न पनि सुझाव दिनुभएको थियो ।

तर हरेक काम अन्तिम घडिमा ल्याएर काम नभए निगमको जहाज उडाउन सकिदैन भन्दै वित्तीय स्वार्थ पूरा गर्ने बानी बसाल्नुभएका अध्यक्षले यो म्याद थपको निर्णय पनि बहुमतले पारित गराउनुभएको छ ।

निगमले विगत एक दशकदेखि दोहामा फाहद ट्राभल्सलाई नै जीएसए दिंदै आएको छ ।

निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार दोहाको फाहद ट्राभल्ससंग कार्यकारी अध्यक्ष खरेलको विशेष सम्बन्ध छ । दुवाईको स्टेशन म्यानेजर भएर फर्केपछि महाप्रबन्धक भएको बेला दुवाईको उडान दोहा डाइभर्ट गर्दै बन्द गरेर दोहाको फाहद ट्राभल्ससंग राम्रै कमिशन लिने गर्नुभएको थियो । दुबईको तात्कालिन जीएसए त्यहाँको शाही परिवारका खान्दानी व्यक्तिहरु संलग्न भएकोले उनीहरुसंग कमिशनको मोलमोलाई गर्न नमिल्ने भएपछि उहाँले दुबाई उडान नै बन्द गराउने भूमिका खेल्नुभएको थियो ।

सञ्चालक समितिका सदस्य पहाडीले नोट अफ डिसेन्ट लेखे पनि बहुमतको निर्णय गरी कार्यकारी अध्यक्ष खरेलले दोहाको जीएसए फाहद ट्राभल्सलाई २ बर्षको म्याद थप गरिदिनु भएको छ ।

कतिपयले मन्त्रीले हटाउन लाग्नुभएका कार्यकारी अध्यक्ष खरेलको अन्तिम भोजको रुपमा यसलाई ब्याख्या गरेको पनि छन् ।

 

Share Now

Leave a comment.