Prakash Adhikari January 6, 2020

सानेपा(ललितपुर), २१ पौष । नेपाली कांग्रेसका ४५ जिल्ला सभापति पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको आह्वानमा भएको दुई दिने भेलामा सहभागी बन्न उनीहरु कठांग्रिने जाडोको पर्वाह नगरी राजधानी आएका हुन् ।

सोमबार दिउँसो १ बजेदेखि सुरु भएको भेलाको आरम्भमा आयोजकका तर्फबाट पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले संबोधन गर्नुभएको थियो ।

उहाँले असन्तुष्ट पक्षको अनुपस्थितिमा पार्टी सभापति देउवाले बहुमतको आधारमा गत पुस ११ गते गरेका निर्णय सच्याउनुपर्ने धारणा राख्नुभएको थियो।
भेलालाई संबोधन गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो,‘विवादित विषयमा सहमति बनिसकेको थियो। एकाएक एकलौटी ढंगले सभापतिजी बहुमतको आधारमा अघि बढ्नुभयो। पार्टीकै इतिहासमा पहिलोपटक बहुमतले महाधिवेशनको मिति घोषणा गर्ने काम भयो। महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा केन्द्रीय समितिले बहुमतका आधारमा पास गरियो। यो विधिसम्मत छैन, सच्याउनुपर्छ । ’

भेलामा महामन्त्री शशांक कोइराला, पार्टीमा सहमति कायम गर्न असन्तुष्ट समूहको तर्फबाट खटिनुभएका वार्ता टोली संयोजक पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि संबोधन गर्नुभएको थियो ।

उहाँहरुले सभापति देउवाले पार्टीको अल्पमत वा असन्तुष्ट पक्षलाई समेटेर हैन पेलेरै नीति लिएकोले पार्टीभित्र एकता कायम गर्दै प्रतिद्धन्द्धि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट सिर्जना भएका चुनौतीहरुको सामना गर्न बहुमतको आधारमा गरिएका निर्णयहरु सच्च्याउन संस्थापनलाई बाध्य पार्न आवश्यक भएको उल्लेख गर्नुभएको थियो ।

नेताहरूले भेलाको औचित्वबारे प्रकाश पारेपछि जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ ।

भेलामा रोल्पाका सभापति अम्बरसिंह पुनले पार्टी विधिसम्मत चल्नुपर्ने बताउदै अधिनायकवादी शैलीमा पार्टी कब्जा गर्ने मनस्थितिबाट नेतृत्व मुक्त हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, एक वर्षअघि (पुस ८) मा सकिएको महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा कार्यान्वयन नहुँदै निलम्बन गरिएको छ, यो हामीलाई स्वीकार्य हुन्न । ’

महासमितिमा छलफल गरी पास गरेको विधानका धारा निलम्बन गर्ने अधिकार केन्द्रीय समितिलाई नहुने उहाँको जिकिर थियो ।

कांग्रेसमा विधि विधान बनाउने वा हेरफेर गर्ने अधिकार महाधिवेशन र महासमिति बैठकले गर्न सक्छ।

‘यो गुट बैठकको रूपमा बुझ्नु हुन्न। विधिसम्मत तरिकाले नेतृत्व चल्नुपर्छ भन्ने हाम्रो माग हो, त्यसैका लागि दबाब दिन हामी यहाँसम्म आएका हौं,’ उहाँले भन्नुभयो।

धादिङका सभापति रमेश धमला पनि महासमितिले बनाएको विधान केन्द्रीय समितिले निलम्बन गर्न नमिल्ने बताउँनुभएको छ।

‘यदि विधानका धारा निलम्बन नै गर्नुपर्ने थियो भने महासमिति बैठक बोलाउन सकिन्थ्यो, अधिकार नै नभएको केन्द्रीय समितिले बहुमतको आधारमा विधानको धारा निलम्बन गर्ने?,’ उहाँले केन्द्रीय समितिसंग प्रश्न गर्नुभयो ।

उहाँले पार्टीलाई सच्च्याउनका लागि भेलामा सहभागी भएको बताउदै भन्नुभयो, ‘कांग्रेस नेतृत्व निरंकुशतर्फ जाने हो कि भन्ने त्रास छ। बेलैमा सच्चिन दबाब दिनुपर्छ ।’

उहाँले पार्टी नेतृत्वको खोइरो खन्ने पक्षमा कुनैपनि इमान्दार नेता र कार्यकर्ताहरु नरहेको बताउदै पार्टीमा अपूर्व एकता कायम गरी पार्टीको भविष्य सुन्दर बनाउन यो भेलामा उपस्थित भएको बताउनुभयो ।

उहाँले पार्टी बलियो बनाउनुपर्छ, विधानअनुसार हिँडाउनुपर्छ भन्ने चाहनेहरूको भेला भएको जिकिर गर्नुभएको छ ।

भेलाका सहभागीहरुले पार्टीभित्र सहमति कायम नगरी गत पुस ११ गते बहुमतका आधारमा १४ औं महाधिवेशन कार्यतालिका घोषणा गर्ने, देउवा नेतृत्वको कार्यसमितिको म्याद थप र विभाग संख्या ४७ पुर्‍याउने निर्णय फिर्ता गर्नुपर्ने अडान कायम राख्न भेलाका आयोजक केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

बैठकमा पूर्वमहामन्त्री सिटौला समूहबाट पाँच जिल्ला सभापति सहभागी हुनुहुन्छ।

कालिकोट सभापति हर्ष बम, सिन्धुपाल्चोक सभापति विकास लामा, झापा सभापति उद्धव थापा, ताप्लेजुङ सभापति लिला बोझिम र संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ बैठकमा आएका हुन्।

असन्तुष्ट पक्षका नेता कृष्णप्रसाद सिटौला भने भेलामा आइपुग्नुभएको छैन तर उहाँ निकटस्थ केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेल उपस्थित हुनुहुन्छ।

पौडेल पक्षबाट महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, रामशरण महत सहभागी हुनुहुन्छ।

भेला भोलि मंगलबारसम्म चल्नेछ।

Share Now

Leave a comment.