काठमाडौं, २१ पौष । नेपाल सरकारले फ्रान्सको सरकारसंग (जीटुजी) आपसी समझदारीमा लिन लागेको झण्डै साढे २५ अर्ब मूल्यको सुरक्षण मुद्रण मेसिनको खरिदमा आधा अर्थात १२ अर्बभन्दा बढी रकम घोटाला हुन लागेको भन्दै प्रतिनिधिसभाको लेखा समितिमा उजुरी परेको छ।
सोमबार सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उजुरीकर्ता मेसिनरी एण्ड प्रिन्टिङ प्रालि नेपालका सञ्चालक विजय प्रकाश मिश्रले सो आरोप लगाउनु भएको हो ।
लेखा समितिले आज छलफलको लागि उजुरीकर्तालाई समितिको बैठकमा बोलाएको थियो ।
समितिको बैठकमा आफ्नो उजुरीको बारेमा पुष्टि गर्दै उहाँले भन्नुभयो, नोट छपाइबाहेकको सुरक्षण मुद्रण मेसिन सरकारले २ सय मिलियन यूरोमा खरिद गर्न लागेको छ। यसको आधिकारिक मूल्य १ सय युरो मात्रै पर्दछ।
मिश्रले सो मूल्यलाई प्रचलित बिनिमय दरमा नेपालमा रुपान्तरण गर्दा मेसिनको खरिद मूल्य साढे २५ अर्ब पर्ने र झण्डै १३ अर्ब (१२ अर्ब ८२ करोड) रुपैंया घोटाला गर्न लागिएको बताउनुभयो ।
उहाँले सो मेसिन निर्माण कम्पनीमार्फत नभई निर्यात कम्पनीमार्फत नेपालले ल्याउन लागेको दिदै भन्नुभयो, सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेल र आपूर्तिकर्ता कम्पनीका फ्रान्सेली नागरिक फ्लोरिन पाक्युलिनबीच नेपाली पासपोर्ट छपाईको समयदेखि सहकार्य रहदै आएको पनि आरोप लगाउनुभयो । पौडेल राहदानी विभागमा काम गर्दा दुवैबीच सुमधुर सम्बन्ध बनेको र यो खरिदमा सरकार सरकारबीचको आवरणमा डरलाग्दो घोटाला गर्न लागिएको उहाँले आरोप लगाउनुभयो ।
सरकारले ल्याउन लगेको सेक्युरिटी प्रेसले पासपोर्ट, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, रिचार्जकार्ड, लाइसेन्सलगायत सामग्री छपाउन सक्छ।


















