Prakash Adhikari January 6, 2020

काठमाडौ, २१ पौष । धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालसम्म ढूंगाना बोर्डमा विज्ञ सदस्यको रुपमा संचालक समिति सदस्य पदमा कार्यरत रहनुभएको छ ।

ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा केही महिनाअघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले मनोनयन गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निकट मानिनुहुने ढुंगानालाई अध्यक्ष बनाउनैका लागि बोर्ड सदस्यमा ल्याइएको त्यसबेलाको अनुमान अहिले सत्य सावित भएको छ ।
अर्थमन्त्री डा. खतिवडा पनि नेपाल सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित हुनुभएको थियो ।

पुनः राष्ट्रियसभामा नियुक्तिको अपेक्षा गरिरहनुभएका अर्थमन्त्री डा. खतिवडाले राष्ट्रपति भण्डारीको सदाशय विरुद्ध जाने संभावना थिएन । यसरी बोर्डको अध्यक्षमा उहाँको चयन सुगम हुन गयो ।

गत असोज महिनादेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना निष्काशन गरेको थियो। उक्त पदको लागि ८ जनाको आवेदन परेको थियो।

अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

अध्यक्ष छनौटको अन्तिम प्रकृयामा गठित समितिले तीन जना मध्ये ढुंगानालाई छनोट गरी सिफारिस गरेको हो ।

Share Now

Leave a comment.