Prakash Adhikari January 12, 2020

हेटौडा(मकवानपुर),२७ पौष । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको छ।

प्रदेशसभामा आइतबार बिहान ९ बजेबाट सुरु भएको मतदानमा हेटौंडाको पक्षमा दुईतिहाई भन्दाबढी मत (१०५) र विपक्षमा ३ मत परेको थियो ।

दुईतिहाइ मतरहेको सत्तारुढ नेकपासहित अन्य प्रमुख दलहरुले राजधानी हेटौंडाको पक्षमा मतदान गरेका हुन् ।

यस अगाडि ३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल राजधानी कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको थियो।

मतदानमा विवेकशील साझा पार्टीको ३ मत परेको छ । साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेलमा मतदान गर्नुभएको थियो।

काभ्रेको विपक्षमा १ सय १ मत परेसँगै काभ्रे प्रदेश ३ को राजधानीको लागि अस्वीकृत भएको हो। ३ नं प्रदेश सभामा १ सय १० सांसद रहेका छन्।

प्रदेशको स्थायी राजधानीका लागि शनिबार २ वटा नाम प्रदेशसभामा दर्ता भएको थियो। प्रदेशसभामा नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको हो।

त्यस्तै, विवेकशील साझा पार्टीका रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेर काभ्रेको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गराउनुभएको थियो।

Share Now

Leave a comment.