Prakash Adhikari January 19, 2020

 

काठमाडौं, ५ माघ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षको पदबाट मदन खरेलले राजीनामा दिनुभएको छ ।

उहाँले आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष कृपाले ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

एअरबसका ३३० २४३ सेरिजका दुई वाइडबडी ल्याउने क्रममा भ्रष्ट्रचारको भूमरीमा फस्नुभएका तात्कालीन महाप्रवन्धक सुगतरत्न कंशाकारले नयाँ जहाजका लागि नयाँ गन्तब्य पहिल्याउन नसकेको निराशाजनक अवस्थामा कार्यकारी अध्यक्षको रुपमा नियुक्त हुनुभएका खरेलबाट प्रधानमन्त्री,मन्त्री,मन्त्रालय र निगमको सञ्चालक समिति र कर्मचारीहरुले धेरै ठूलो अपेक्षा गरेका थिए ।

उहाँलाई कार्यकारी अध्यक्षमा नियुक्ति गर्दा वायुसेवा निगमले भित्र्याएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने,निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि आधारभूत काम गर्नपर्ने जिम्मेवारीसमेत दिइएको थियो ।

तर कुर्सी सम्हालेको केही समयमा नै उहाँको कार्यशैली बदलियो । उहाँले निगमका नियमित रुपमा हुनुपर्ने काममा पनि ब्यवधान उत्पन्न गराउनुभयो । टेण्डर भएर पुस्कृत हुने अवस्थामा पुगेको न्यारोबडीको इञ्जिन मर्मत र वाइड बडीको पावर वाई आवर ठेक्का बिगार्नुभयो । त्यसपछि उहाँमा हरेक काममा विलम्ब गरेर पैसा कमाउने लालच बढ्यो र निगमका कामहरु सोचेको गतिमा बढ्न सकेनन् ।

उहाँले जिम्मेवारी लिएको एक बर्षपछि निगमले वाइडबडीको लागि जापानको ओशाका नयाँ गन्तब्यमा उडान त थाल्यो तर जिएसए नियुक्तिमा आर्थिक स्वार्थ देखाएपछि शुभारम्भ उडानदेखि नै सो सेक्टर घाटामा गयो । कोरिया र चीनको ग्वाझाओ उडानको शुभारम्भ नै निश्चित भएन । साउदी अरेबियाको रियादको उडान पनि जिएसए नियुक्तिमा नै विवाद उत्पन्न भएर बिलम्बित भयो ।

निगमको अन्तराष्ट्रिय उडानमा रहेको ३२०-२०० सेरिजका दुई न्यारोबडीका जहाज र ३३०-२४३ सेरिजका दुइ बाइडबडीका जहाजको मर्मत संभारमा पनि उहाँको त्यति ध्यान गएन । कहिले एपीयू बिग्रेको छ त कहिले ककपीटको अटोलक बिग्रेको छ ।

निगमको बेडामा रहेका आन्तरिक उडानका जहाजहरुको उडानमा पनि उहाँले त्यति ध्यान दिनुभएन । चीनबाट ल्याइएका दुइ एमए ६० र ४ वटा वाई १२ जहाजको पनि उहाँले सञ्चालन गर्न सक्नुभएन ।

नियुक्तिको समयमा दिइएको कार्यदेश अनुरुप नतिजा नआएपछि प्रधानमन्त्री ओली समेत उहाँसंग रुष्ट हुनुभएको थियो । उहाँले आफ्नो असन्तुष्टि निगमको बार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका प्रधानमन्त्रीले उहाँको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाउनुभएको थियो ।

उहाँको कार्यशैलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समेत सन्तुष्ट हुनुभएन । उहाँले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसकेको कारण बारम्बार पद छाड्न आग्रह गर्नुभएको थियो ।

 

कार्यकारी अध्यक्ष खरेल २०७० साल जेठमा पनि चार वर्षका लागि महाप्रवन्धक बन्नुभएको थियो तर त्यसबेला पनि उहाँले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो ।

राजिनामा दिनुभएका खरेल आइतबार बेलुका नै अष्ट्रेलिया जानुहुने बताइएको छ ।

Share Now

Leave a comment.