Prakash Adhikari February 13, 2020

काठमाडौं,१ फागुन ।   बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ।

दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ।

दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका हुन्।

लम्सालले त्यहाँस्थित नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै “हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने” उल्लेख छ।

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै लम्सालले यसअघि चिनियाँहरूले तीन दिनजतिको समय राखेर पूर्वजानकारी दिनुपर्ने भनेको बताए।

कोरोनाभाइरस
तर अहिले दुई दिनमै उद्धारका लागि सबै कुरा सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनले भने, “अब हामीले चाँडै अनुमति पाएर शनिवारसम्म नेपालीहरूको उद्धार गरिसक्छौँ भनी तयारी गरेर बसेका छौँ।”

सर्तनामा
हुबेमा रहेका नेपालीहरूलाई नेपाल ल्याउनका लागि दूतावासले उनीहरूसँग सर्तनामा गराएको बीबीसीको सम्पर्कमा रहेका नेपालीहरूले जनाएका छन्।

उनीहरूका अनुसार सर्तनामामा विभिन्न बुँदाहरू समावेश छन्। विद्यार्थीहरूले दिएको जानकारी अनुसार उक्त सर्तनामामा निम्न कुराहरू समावेश गरिएका छन्।

  • उद्धारपश्चात् नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारन्टीनस्थलमा १४ देखि १७ दिन वा त्यसभन्दा बढी समय पनि राखिनेछ।
  • क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ।
  • क्वारन्टीनस्थलमा रहँदा आफन्तसँग भेटघाट गर्न दिइने छैन।
  • क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।
  • क्वारन्टीनस्थलमा रहँदा सहजता र आरामलाई सकेसम्म व्यवस्थित तथा हात र स्वासप्रश्वासको स्वच्छतालाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ।
  • क्वारन्टीनस्थलमा रहँदा त्यहाँका हरेक नियमहरू पालना गर्नुपर्नेछ।

यस्तो छ नेपालमा तयारी

हुबेमा रहेका नेपालीहरूलाई शनिवार स्वदेश फर्काउने निर्णय गरेसँगै त्यसका लागि विभिन्न तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकले हुबेमा रहेका नेपालीहरूलाई वुहानमा भेला गरेर नेपाल ल्याउने निर्णय गरेको हो।

नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका लम्सालले बताए।

कोरोनाभाइरस
उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट एकैपटकमा नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए।

संसद्‌मा जानकारी
मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदहरूलाई सरकारको तयारीबारे जानकारी गराएका थिए।

उनले नेपाल ल्याएर चिकित्सकीय निगरानीमा राखिने ठाउँसम्मको प्रक्रियामा संलग्न हुने मानिसहरूलाई सुरक्षित रहने तालिम दिइएको जानकारी गराए।

कोरोनाभाइरस
हुबेमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन चीन सरकारले ‘ससर्त अनुमति दिने’

विश्वभरि कहाँ के भइरहेको छ

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले भने: “मङ्गलवार मात्रै हामीले सेना, सशस्त्र र जनपथ प्रहरी एवम् स्वास्थ्यकर्मी सम्मिलित ८६ जनलाई सुरक्षित भएर काम गर्ने तालिम दियौँ।”

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिसकेको उनले बताए।

चिकित्सकीय निगरानी

उद्धार गरेर ल्याइएका नेपालीहरूलाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रसहितका चार स्थानमा चिकित्सकीय निगरानीमा राखिने बताइएको छ।

खरिपाटीबाहेक अन्य ठाउँबारे भने अझै निर्णय हुन नसकेको दाहालले बताए।

वुहानको विमानस्थलमा स्वास्थ्य परीक्षण गरेपछि मात्र नेपाल आउन पाउने भएकाले उनीहरूबाट सङ्क्रमणको चिन्ता नलिन मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कोरोनाभाइरस
सहप्रवक्ता दाहालले भने: “काठमाण्डू विमानस्थलमा उनीहरूलाई जाँच गर्नका लागि पाँचवटा स्वास्थ्य जाँच डेस्कहरू राखिनेछ।”

त्यहाँ उनीहरूमा केही लक्षण देखा परेमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललगायतका स्वास्थ्य संस्थामा आइशोलेटेड वार्डको समेत व्यवस्था गरिएको छ।

जहाजमा स्वास्थ्यकर्मी

हुबेमा रहेका नेपालीहरूलाई लिन जाने जहाजमा पनि स्वास्थ्यकर्मीको व्यवस्था गरिने अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूका अनुसार कोरोनाभाइरसबाट बच्ने उपायहरूको तालिम लिएका स्वास्थ्यकर्मी त्यसमा हुनेछन्।

Airbus 330 Nepal airlines को छविको परिणाम

नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज पठाइनेछ
नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ।

सरकारले कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएमा उपचार गराउनका लागि सरकारी र निजी अस्पतालमा गरी डेढ सय आइशोलेडेट बेडको व्यवस्था गरिएको जनाएको छ।

चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ।

(बीबीसीबाट)

Share Now

Leave a comment.