Prakash Adhikari January 17, 2018

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका) ३ माघ (बीबीसी) । न्यूयोर्क टाइम्स पत्रिकाले भनेको छ, राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारेको अनुसन्धान अन्तर्गत एउटा बृहत जुरीसमक्ष बयान दिन आदेश दिइएको छ।

अनुसन्धानको नेतृत्व गरिरहेका रोबर्ट मलरका प्रवक्ताले त्यसबारे कुनै प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन्।

यदी उक्त विषय पुष्टि भए मलरले ट्रम्पका निकटवर्तीबाट जानकारी हासिल गर्न बृहत जुरी प्रयोग गरेको यो पहिलो घटना हुनेछ।

मलरलाई गत वर्षको मे महिनामा अमेरिकी न्याय मन्त्रालयले राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारे अनुसन्धान गर्न नियुक्त गरिएको थियो।

संकेत

संवाददाताहरुले यसलाई मलरको जाँचबुझ तीव्र रुपमा अघि बढ्ने संकेतका रुपमा अर्थ्याएका छन्।

ह्वाइट हाउसबारेको एउटा पुस्तकमा ब्याननको अन्तर्वार्ता आएपछि ट्रम्प र ब्याननबीचको तिक्तता यो महिनाको शुरुमा सार्वजनिक भएको थियो।

मंगलबार ब्यानन एउटा संसदीय समिति सामु उपस्थित भएका थिए।


आरोप
संसदको गुप्तचरसम्बन्धी समितिले पनि सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने आरोपमाथि अनुसन्धान गर्दैछ।

तर मंगलबार भएको अनुसन्धानसम्बन्धी प्रक्रिया भने सार्वजनिक गरिएको थिएन।

संसदले उक्त आरोपबारे गरेका चार अनुसन्धान मध्ये यो एक हो।

यो बाहेक सिनेटको गुप्तचरसम्बन्धी समिति, सिनेटकै न्यायिक समिति र निगरानीसम्बन्धी समितिले पनि रूसबाट भएका भनिएका हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्।

Share Now

Leave a comment.