Prakash Adhikari February 28, 2020

 

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सम्बन्धमा पार्टीभित्र देखा परेको रडाकोलाई समाधान गर्ने नयाँ सूत्र सो पार्टीका वरिष्ठ नेताहरुले फेला पारेका छन् ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको प्रधानमन्त्री ओली बाहेकका नेकपाका शीर्ष नेताहरूको बैठकले पार्टीको सचिवालयको सर्वसम्मत निर्णय अनुसार नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने र वर्तमान अर्थ मन्त्री डा. युवराज खतिवडालाई आगामी छ महिना पुन अर्थमन्त्रीमा निरन्तरता दिने नयाँ सूत्र तय गरेको छ ।

पार्टी सचिवालयको निर्णय र सबै नेताहरुको मान पनि रहने र प्रधानमन्त्रीका प्रियपात्र डा. खतिवडाको जागीरको पनि निरन्तरता रहने भएकोले यो फमूर्ला अनुरुप हाल सल्किएको ध्र्रुवीकरणको आगो साम्य हुने विश्वास नेकपाका नेताहरुले गरेका छन्् ।

शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमतिको सूत्र बोकेर वरिष्ठ नेता माधवकुमार नेपालले अपरान्ह बालुवाटारमा प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेट्नु भएको छ ।

आफ्नो निवासमा भएको बैठकपछि गृहजिल्ला चितवन पुग्नुभएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा भएको पत्रकार भेटघाटमा निकै विश्वस्त भएर २१ फागुनमा वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यको सपथ लिने बताउनुभएको छ ।

उहाँले वामदेव गौतम राष्ट्रिय सभाको सदस्य भएपनि अर्थमन्त्रीलाई पदीय दायित्वमा निरन्तरता दिन संविधानले नरोक्ने र त्यस्तो कार्य प्रधानमन्त्रीको विवेकमा निर्भर रहेकोले यो उपायद्धारा पार्टी विवादको हल हुने पनि बताउनुभएको छ ।

Share Now

Leave a comment.