Prakash Adhikari February 29, 2020

बैंकक(थाइल्याण्ड),१७ फागुन । आगामी अगस्टमा मलेसियामा आयोजना हुने टि २० एसिया कप छनौट प्रतियोगिताको छनौट चरणको रुपमा थाइल्याण्डमा भैरहेको खेलमा नेपालले आज मलेशियासंग प्रतिस्पर्धा गर्दैछ ।

स्थानीय समय अनुसार १२ : १५ मा सुरु हुने नेपाल र मलेशियाको खेलमा नेपाली टीम उच्च मनोबलको साथ उत्रदैछ ।

पूर्वी एशियाली राष्ट्रमा नेपाली टीम मलेशियाको टीमभन्दा राम्रो मानिन्छ । टि २० विश्व कप छनौटको एसियाको फाइनल प्रतियोगितामा नेपालले मलेशियालाई ८३ रनमै समेटेर ७ विकेटको सहज जित हात पारेको थियो भने नेपाली टिमको मलेसिया टुर अन्तर्गतको २०१९ को १३ र १४ जुलाईमा भएको दुई खेलमा  नेपालले दुई जित हात पारेको थियो ।


आजदेखि हुने प्रतियोगितामा आयोजक राष्ट्र थाइल्याण्ड सहित नेपाल, सिंगापुर, मलेसिया र हंगकंग प्रतिस्पर्धा गर्दैछन्।

५ टीम सहभागी प्रतियोगितामा सबै टीमले एकअर्कासंग १ । १ खेल खेलिसकेपछि अंकतालिकामा शीर्षमा रहने २ टिम एसिया कप छनौट खेल्न छनौट हुनेछ।

एशिया कप अन्तर्गत पश्चिम एशिया क्षेत्रको छनौट प्रतियोगिताबाट युएई र कुवेत छनौट भैसकेका छन्।

एसिया कप छनौटमा पूर्व र पश्चिम क्षेत्रबाट पुगेका ४ टिम मध्ये उत्कृष्ट हुने एक टीम आगामी सेप्टेम्बरमा पाकिस्तानमा तय गरिएको टि २० एसिया कपमा छनौट हुनेछ।

नेपालले आज दिउसो १२ ः१५ मा मलेशियाविरुद्ध खेल्नेछ । मार्च १ मा हंगकंग विरुद्ध खेल्नेछ भने ४ मार्चमा आयोजक राष्ट्र थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । मार्च ६ मा नेपाली टोलीले सिंगापुर विरुद्ध खेल्ने भएको छ ।

कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपाली टीममा उपकप्तान दीपेन्द्रसिंह ऐरी , पूर्व कप्तान पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करन केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, किशोर महतो रहेका छन् ।

Share Now

Leave a comment.