काठमाडौं, १९ फागुन । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक राष्ट्रपतिको शिफारीसमा राष्ट्रिय सभामा मनोनयन गर्ने उम्मेद्वारको विषयमा मौन बसेपछि त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा परेको छ ।
बजार खुल्ने वित्तिकै ओरालो लागेको स्टक एक्सचेञ्जको कारोबार दुई घण्टा नबित्दै नेप्से सूचक ५ प्रतिशतले घटेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो।
कारोबार खुलेको १ घण्टा ४६ मिनेट अर्थात १२ बजेर ४६ मिनेट जाँदा नेप्से सूचक ७९.५७ अंकले घटेको थियो।

खुलेदेखि नै लगातार घटेको बजारमा दुई वटा कम्पनीको मात्र शेयरमूल्य केहि बढेको थियो भने १ सय ५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै २ वटा कम्पनीको शेयरमूल्यमा यथावत थियो।
दोस्रो पटक १ ः २६ मा खुलेको बजार ३ मिनेटमा नै परिसूचक ६ प्रतिशत घटेपछि सोमबारको कारोबार बन्द भएको थियो। नेप्सेमा करिब ४३ महिनापछि पूर्ण नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो।
यस अघि २०७३ साउन २४ गते सोमबार नेप्से ५.०३ प्रतिशत घटेर सो दिनको लागि कारोबार बन्द भएको थियो।
सर्किट ब्रेकरको नयाँ नियम लागु भएपछि सर्किट लागेर बजार बन्द भएको भने यो पहिलो पटकको हो। नयाँ नियम अनुसार कारोबारको पहिलो १ घण्टामा नेप्से ४ प्रतिशत, २ घण्टाभित्र ५ प्रतिशत र कारोबार अवधिभर ६ प्रतिशत घटबढ भएमा सर्किट लाग्दछ। यस अघि सो समयावधिमा नेप्से क्रमशः ३ प्रतिशत, ४ प्रतिशत र ५ प्रतिशत घटबढ भएमा सर्किट लाग्ने व्यवस्था रहेको थियो।
हुन त आइतबार पनि बजार ४०. ८२ अंकले घटेको थियो। बजार घटेपनि आइतबार १ सय ८३ कम्पनीको ३९ हजार २ सय ८९ खरिदबिक्रीमा ४ अर्ब ८७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो । गत बिहिबार ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा कारोबार रकममा आइतबार नयाँ कीर्तिमान कायम भएकोले लगानीकर्ताहरुको मनोबल कम भएको थिएन। तर सोमबार भने बजार ओरालो लागेर सर्किट लागेपछि लगानीकर्ताहरुको मनोबल खस्किन पुगेको छ।

यस दिन बजार खुलेको २ घण्टा २९ मिनेटमा नेप्से परिसूचक ९६.०६ अंक घटेर १४९५.३० विन्दुमा पुग्यो। सो अवधिसम्ममा १ सय ७३ कम्पनीको १९ हजार ७ पटकको कारोबारमा २ अर्ब १५ करोड ४४ लाख रुपैयाँ बराबरको ४९ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री हुन सक्यो।
नेकपाको सचिवालयले राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने निर्णय गरेपछि बढेको बजार मन्त्रिपरिषद्को बैठकले यस विषयमा कुनै निर्णय नगरेपछि थेग्नै नसक्ने गरी ओरालो लागेको हो । तर कतिपयले बजार नरोकिइकन तीव्र गतिमा ५ सय अंकले बढेकोले यसलाई सुधारको रुपमा पनि लिएका छन् । सोमबारको बजारमा छोटो समयमा २ अर्बभन्दा बढीको कारोबार भएका कारण आगामी दिनमा बजार बढ्छ भन्ने उनीहरुको विश्वास छ । कतिपयले लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा बिक्री चाप बढ्न गएकोले यो स्थिति आएको दाबी गर्दछन् । तर नाफा बुक गर्दा ३ कम्पनीको मात्र मूल्य बढ्दैन । सोमबारको बजारमा एनआईसी एशिया ब्यालेन्स फण्डको १.९४ प्रतिशत, खानी खोला हाइड्रो पावरको १.६४ र श्री इन्भेष्टमेन्ट फाईनान्सको शेयर मूल्यमा ०.६० प्रतिशतले मूल्यमा सुधार भएको थियो ।


















