Prakash Adhikari March 4, 2020

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ।

१२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।

त्यसका लागि उहाँ सोमबारदेखि नै अस्पताल भर्ना हुनुभएको छ ।

उपचारमा संलग्न डाक्टरहरूका अनुसार प्रधानमन्त्री ओलीको आज बुधबार बिहान ९ बजे मिर्गौला प्रत्यारोपणको सल्यक्रिया सुरु हुनेछ ।

त्यसका लागि उनलाई मंगलबार राति १२ बजेदेखि नै केही खान नदिइएको चिकित्सकले जानकारी दिएका छन्।

मंगलबार नै प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो । उहाँको मुटु, रक्तचाप लगायत अन्य स्वास्थ्य अवस्था राम्रो रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई झापाकी ३२ बर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिनुहुनेछ।

चिकित्सक टोली

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।

ओलीको मिर्गौला प्रत्यारोपणमा ज्ञवालीसँगै डा. उत्तम शर्मा, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह, डा. सुवास आचार्य र रमेशसिंह भण्डारी लगायतका चिकित्सक रहेका छन्। टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर, ८ जना नर्स र अन्य स्वास्थ्यकर्मीसमेत रहने छन्। यो टिममा निजी चिकित्सक डा.दिलिप शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी पनि रहनुहुन्छ। त्यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरलालाले प्रत्यारोपणका क्रममा सहयोग गर्नुहुनेछ ।

डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ ।प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५ देखि ७ दिनमा अस्पतालमा राखिन्छ ।

प्रधानमन्त्रीको पहिलो पटक मृगौला प्रत्यारोपण गर्ने टीमका प्रा.डा.अनन्तकुमारलाई पनि भारतको अपोलो अस्पतालबाट निम्त्याइएको छ । उहाँलाई सल्यक्रियामा सरिक हुन मेडिकल काउन्सिलको अनुमति पनि दिइएको छ ।

२०६४ साउनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि उहाँ साउन महिनादेखि सघन उपचार र कात्तिकदेखि नियमित डायलाइसिसमा हुनुहुन्छ ।

स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानी प्रधानमन्त्री डा लोट्टी छिरिङले मिर्गौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

नेपालका लागि भारतका नया राजदूत विनय क्वात्राले अस्पताल नै पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ भने नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँको मृगौलाको सफल प्रत्यारोपणको कामना गर्दै सप्तरीको छिन्नामस्ता र खोटाड.को हलेसि महादेव मन्दीरमा दीप प्रज्वलन तथा पूजा आराधाना गरिएको छ ।

Share Now

Leave a comment.