राष्ट्रिय सभामा १९ सदस्यको समायावधि मंगलबार राति १२ बजेबाट समाप्त, १८ जना नवनिर्वाचितले आज सपथ लिदैं
काठमाडौं, २१ फागुन । संघीय संसदको राष्ट्रियसभाका १९ जना सदस्यहरुको पदावधि २० फागुन मध्यरात १२ बजेबाट समाप्त भएको छ ।
ती सदस्यहरुको रिक्त स्थानका लागि माघ १२ गते भएको निर्वाचनमा विजयी भएका नवनिर्वाचित १८ सदस्यले आज बुधबार पद तथा गोपनीयताको शपथ लिँई राष्ट्रिय सभाको नियमित बैठक र काम कारबाहीमा भाग लिने छन् ।
पदावधि सकिएका एक राष्ट्रिय सभा सदस्य नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिने कोटामा परेको र सत्तारुढ नेकपाभित्र त्यसको विषयमा मतभेद भएकोले राष्ट्रपतिले मनोनित गर्ने सीट हाललाई बाँकी नै राखिएको छ । यो कोटामा पर्नुभएका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि पनि हिजो राति १२ बजे सकिने भएपछि उहाँले मंगलबार अपरान्ह पदबाट राजिनामा दिनुभएको थियो ।
गत माघमा राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ सदस्यले आज बिहान ११ बजे संघीय संसद् भवनको ल्होत्से हलमा शपथ लिने कार्यक्रम तय भएको छ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई शपथ गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
२०७४ सालमा पहिलोपटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो। जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको हो।
निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ भने राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ । अन्य पार्टीहरुले एक सिट पनि जित्न सकेनन ।
शपथ लिने नयाँ १८ सदस्य
इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर।
कार्यकाल सकिएका १९ सदस्य
कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा। युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामपृत पासवान, विन्दादेवी आले राना, वृषेशचन्द्र लाल, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे र हरिचरण शिवाकोटी।


















