काठमाडौं, २१ फागुन(बीबीसी) । सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ।
पूर्वनिर्धारित योजनानुसार नै शल्यक्रिया तथा अन्य प्रक्रिया सुरु हुने प्रा. डा. प्रेमराज ज्ञवालीले बीबीसीलाई बताए।
बाह्र वर्षअघि भारतमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए।
अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन्। डा. ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन्।
“फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,” ज्ञवालीले भने।
वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो...
प्रा. डा. प्रेमराज ज्ञवाली
शल्यचिकित्सक
“वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”
ओलीलाई एक नातेदार २६ बर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिन लागेको ओलीको सचिवालयले जनाएको छ।
प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ।
मङ्गलवार के भयो?
प्रधानमन्त्री ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम ‘क्रस-म्याच’ परीक्षण गरिएको थियो। उनी सोमवार अस्पताल भर्ना भएका थिए।
“हिजो हामीले सबै परीक्षण सम्पन्न गर्यौँ। रगत, पिसाब र ईसीजीजस्ता सबै परीक्षण गरिसकिएको छ,” डा. ज्ञवालीले भने।
त्यसबाहेक प्रधानमन्त्री ओलीको हिजो डायालिसिस पनि गरिएको थियो।
प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित गर्ने लगायतका कार्य मङ्गलवार नै सम्पन्न गरिसकिएको र अन्य आवश्यक तयारी समेत पूरा भइसकेको डा. ज्ञवालीले बताए।

ओली सोमवार अस्पताल भर्ना भएका थिए ।
भारतबाट आएका चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्ने काम पनि मङ्गलवार नै भयो।
ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ भारतबाट आएका छन्।
तर शल्यक्रिया नेपाली चिकित्सकहरूले नै गर्ने र उनीहरूलाई तयारी अवस्थामा मात्रै राखिएको ज्ञवालीले बताए। “शल्यक्रिया गर्ने बेला उहाँहरू हामीसँगै रहनुहुनेछ,” उनले थपे।
“शल्यक्रिया गर्ने हामीले नै हो। उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो। समस्या परे सहयोग लिन सकिन्छ,” ज्ञवालीले भने।


















