Prakash Adhikari March 15, 2020

काठमाडौं, २ चैत्र । विश्वभर महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसको नियन्त्रण र रोकथाममा दक्षिण एशियाली क्षेत्रमा साझा रणनीति बनाउने सम्बन्धमा यस क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्स आज साँझ हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का राष्ट्र। सरकार प्रमुखबीच आइतबार नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने तय भएको छ।

सो भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनु हुनेछ। प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उहाँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुने जानकारी दिनुभएको छ, तर मृगौलाको दोस्रो प्रत्यारोपणपछि शुक्रबारमात्र नाजुक अवस्थामा निवास फर्कनुभएका प्रधानमन्त्री बालुबाटारबाटै उक्त कन्फरेन्समा सरिक हुने संभावना बढी छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रले एउटा साझा रणनीति बनाउनु पर्छ भन्ने प्रस्ताव गर्नुभएको थियो।

‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभएको थियो, ‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पुर्‍याउन सक्छौं।’

सार्कका सबै राष्ट्रले भारतको प्रस्ताव स्वीकार गरेका थिए। पाकिस्तानले सबैभन्दा अन्तिममा भारतको प्रस्ताव स्वीकार गर्दै सार्कका नेताहरुबीच हुने भनिएको भिडियो सम्मेलनमा आफ्ना स्वास्थ्यमन्त्री सहभागी हुने घोषणा गरेपछि कन्फ्रेन्सको समय तय भएको हो ।

सार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले शुक्रबार नै भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई उक्त भिडिओ कन्फरेन्समा सहभागी हुन चिकित्सकहरूले नै अनुमति दिएका छन्।

संसारको सबैभन्दा बढी जनसंख्याको आवादी रहेको र गरिबीले आक्रान्त दक्षिण एशियाली क्षेत्रका देशहरुको स्रोत साधनको उपयोग गरी यस क्षेत्रका देशको समुन्नति र जनताको भलाई गर्ने उद्देश्यले सन १९८५ को डिसेम्बर ८ मा बंगलादेशको राजधानी ढाकामा भएको यस क्षेत्रका देशको राष्ट्र तथा सरकार प्रमुखहरुको भेलाले सार्कको स्थापना गर्ने निर्णय गरेको थियो ।

सार्क राष्ट्रहरु सबैसंग सौहाद्रपूर्ण सम्बन्ध भएको कारण सार्कको सचिवालय नेपालमा स्थापना गरिएको छ । सार्कको टी.बी र एड्स नियन्त्रणको क्षेत्रीय कार्यालय सानो थिमि भक्तपुरमा रहेको छ ।

विभिन्न उतार चढाव पार गर्दै आएको सार्कको १८औं शिखर सम्मेलन २६देखि २८ नोभेम्बर २०१४ मा नेपालमा भएको थियो । यो सम्मेलनले सार्क मुलुकको सम्बन्ध सामान्य स्तरमा ल्याएको थियो । ९ देखि १० नोभेम्बर सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा सार्कको १९ औं शिखर सम्मेलन हुने तय भएकोमा भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव उत्पन्न भएकोले सार्कको गति रोकियो र भारतले पाकिस्तानलाई बाहेक गरेर त्यसको विकल्पमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिमस्टेक)लाई अगाडि बढाउदै आइरहेको छ ।

एकापसमा सीमा जोडिएका दक्षिण एशियाका यी देशहरुको समुन्नति र जनताको हितको लागि एकापसमा समन्वय र सहयोग गर्न समयले पुन सबैलाई बाध्य बनाएको छ । कोरोना नियन्त्रणको राष्ट्रिय स्वार्थका लागि हवाई,जल र स्थलमार्गमा पनि एकअर्काका देशका नागरिक प्रवेशमा कडाई गरिरहेका सार्कका नेताहरुले कुन स्तरको सहयोग र समन्वयको टुंगो लगाउछन् , सार्कसंगै यसका सदस्य राष्ट्रहरुको समुन्नति र जनताको कल्याण त्यसमा निर्भर रहने भएकोले आजको भिडियो कन्फरेन्सलाई सबैले अभिरुचिपूर्वक हेरेका छन् ।

Share Now

Leave a comment.