Prakash Adhikari March 18, 2020

काठमाडौं, ५ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल आफ्नो पाँच बर्षे कार्यकाल पूरा गरी चैत्र ५ गतेदेखि पदमुक्त हुनुभएको छ ।

२०७१ साल चैत्र ५ गते नेपालको केन्द्रीय बैंकको गभर्नरमा नियुक्त हुनुभएका डा. नेपालकोे कार्यकाल विवादरहित नै रह्यो । उहाँले जिम्मेवारी सम्हालेको महिनादिन पछि आएको २०७२ सालको महाभूकम्पले तहस नहस बनाएको अर्थव्यवस्थालाई सही नीतिद्धारा सही मार्गमा ल्याउने सफलता प्राप्त गर्नुभएका डा. नेपालको कार्यकालको अन्तिमसमय पनि विश्वब्यापी कोरोना महामारीबाट परेको नकारात्मक आर्थिक असरलाई कम गर्दै अर्थतन्त्रको उत्थानमा सक्रिय हुँदाहुँदै बित्यो । उहाँको कार्यकालमै मधेश आन्दोलनका कारण देशले भारतको नाकाबन्दी समेत भोग्नु पर्यो ।

प्राकृतिक विपत् र बाह्य प्रतिकूलतासंग जुध्दाजुध्दै पनि नेपालको समग्र अर्थतन्त्रलाई सहीमार्गमा ल्याउन केन्द्रीय बैंकले लिएको सामयिक नीतिले यी बर्षमा नेपालको आर्थिक विकास दर भने सन्तोषजनक रहन पुग्यो ।

नेपाल राष्ट्र बैंकबाट मंगलबार औपचारिक विदाई लिंदा उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुलाई २३ बूँदामा समेट्नु भएको छ ।

खासगरी बैंक तथा वित्तीय संस्थाहरुको पूँजी बृद्धि, बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र प्राप्ति, नयाँ बाणिज्य बैंक तथा विकास बैंकको स्थापनामा रोक, बैंक तथा वित्तिय संस्थाहरुको शाखा विस्तार, वित्तीय पहुँच विस्तार, कारोबार बृद्धि, निक्षेप र लगानी बृद्धि, विपन्न बर्ग र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानीको बातावरण निर्माण,समस्याग्रस्त वित्तीय संस्थाको उद्धार, केन्द्रीय बैंकको स्वायत्तताको रक्षा जस्ता क्षेत्रमा उहाँको कार्यकालमा प्रशंसनीय कार्य भएका छन् ।

यस्तै हरेक स्थानीय तहसम्म बैंक तथा वित्तीय सेवा पुर्याउने र देशको संघीय संरचना अनुरुप वित्तीय क्षेत्रको संरचना सुधार गर्ने कार्यमा पनि यो अवधिमा उल्लेख्य योगदान भएको छ ।

आफ्नो कार्यकालमा भएका प्रगतिहरुलाई गभर्नर नेपालले २३ बूँदामा यसरी सूत्रबद्ध गर्नुभएको छ । देशको केन्द्रीय बैंकको रुपमा रहेको, मौद्रिक तथा वित्तीय नीतिमा सरकारको सल्लाहकार रहेको र बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकको स्वायत्तालाई कायम राखी मुलुकको आर्थिक विकासलाई गति दिन सरकारले कस्तो गभर्नर नियुक्ति गर्छ यसको लागि केही दिन कुर्नै पर्दछ । तर डा. नेपालले छाड्नु भएको सुधारको प्रक्रियालाई निरन्तरता दिने कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाउनुभएको छ ।

यस्तो छ, गभर्नर डा. नेपालको कार्यकालमा भएको सुधारको फेहरिस्त :https://www.nrb.org.np/ofg/events_ofg_cms/Press%20Release%20of%20Governor.pdf

Share Now

Leave a comment.