काठमाडौं, ६ चैत्र (रासस) । प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ ।
समितिको बिहिबार बसेको बैठकले उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको चापअनुसार सघन उपचारकक्ष र आइसोलेसनको पर्याप्त व्यवस्था मिलाउने र कोरोना भाइरसको परीक्षणका लागि मेडिकल सामग्री उपलब्ध गराई औषधि मौज्दात राख्ने प्रबन्ध गर्ने निर्देशन दिएको छ ।
त्यस्तै सरकारी, सामुदायिक र निजी अस्पतालबीच आवश्यक समन्वय गरी कोरोना भाइरसबाट सङ्क्रमण रोकथामका लागि आइसीयू र आइसोलेसन राख्ने, सातै प्रदेशमा यो उपचार तथा परीक्षणको हुन सक्ने गरी प्रबन्ध गर्ने निर्देशन दिइएको छ ।
बैठकले प्रत्येक स्वास्थ्य संस्थामा मेडिकल विज्ञ समूह खडा गरी कोरोना भाइरसविरुद्ध लड्न चिकित्सकको मनोबल वृद्धि गरी चिकित्सकको सुरक्षामा विशेष ध्यान पु¥याउन तथा कोरोना भाइरसको नियन्त्रणमा सफलता हासिल गरेको मित्रराष्ट्र चीनको व्यवस्थापकीय पक्षको जानकारी लिई देशभर सञ्चारमाध्यममार्फत तत्काल जनचेतनाको अभियान कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
माक्स, औषधि तथा अतिआवश्यक वस्तुको अभाव देखाउने काम भएको हुनाले कालाबजारी रोक्न गृह र उद्योग तथा वाणिज्य मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
विपद्का बेला राजनीतिक दलको एकतालाई स्वागत गर्दै समितिले स्थानीय तहको वडा तहसम्म राजनीतिक दलका भातृ सङ्गठनमार्फत कोरोनाको सम्भावित सङ्क्रमणलाई रोक्ने अभियान सञ्चालन गर्ने सुझाव पनि दिएको छ ।
्समितिले कारागार, बालगृह, अनाथालयमा हुन सक्ने संक्रमणलाई न्यूनीकरण गरी त्यहाँ बस्ने सम्पूर्ण नागरिकलाई सुरक्षा दिन पनि निर्देशन दिइएको छ ।
समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारलाई समितिले दिएको १० बुँदे निर्देशन दिएको जानकारी गराउनुभएको थियो । उहाँले कोरोना भाइरससम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा सत्य, तथ्य र वस्तुनिष्ठ जानकारी मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यमसंग आग्रह गर्नुभएको थियो ।
समितिको बैठकमा सांसद सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, बालकृष्ण खाँड, गोमा देवकोटालगायतले सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रणलाई रोक्न आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने र बजारमा अत्यावश्यक वस्तुलाई लुकाएर कालोबजारी गर्नेलाई कडा कारवाही गर्नुपर्ने सुझाव दिनुभएको थियो ।


















