काठमाडौं, १० चैत्र । कोरोना भाइरस (कोभिड१९) संक्रमणकोे विश्वव्यापी महामारीबाट बच्न आजदेखि देशैभर लामो दूरीका नियमित यातायात सेवा बन्द गरिएको छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने तथा अन्य एक शहरबाट अर्को शहर आउजाउ गर्ने सबै सार्वजानिक सवारी साधानमा रोक लगाइएको हो।
एक जिल्लाबाट अर्कौ जिल्लामा समेत सवारी आवागमनमा रोक लगाइएको यातायात ब्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभएको छ। निजी सवारी साधन तथा मोटरसाइकल र स्कुटर भने लामो दूरीमा पनि चलाउन पाइनेछ।
आज बिहानैदेखि काठमाडौंका सडक विगतको तुलनामा सुनसान देखिन थालेका छन्। सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन्।
कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृहजिल्ला फर्किएकाले यात्रुसमेत घटेको छ। बजारमा चहलपहल कम भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै , ‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइने छ’, भन्नभएको थियो ।
सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित देखिन्छ।
यसले नेपालमा कोरोना संक्रमणको कम्तिमा दुई हप्ताको अवस्था निगरानी गरेर सडक यातायात सेवा खुलाउने सम्बन्धमा निर्णय हुन सक्ने संकेत गर्दछ ।
सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु आइतबार रातिदेख बन्द गरिसकेको छ । तर नेपाली नागरिकलाई विदेशबाट ल्याउनु पर्ने अवस्था वा विदेशी नागरिकलाई स्वदेश फर्काउनु पर्ने अवस्थामा भने चार्टर्ड उडान गर्न सकिने छ । आन्तरिक उडान र छोटो दूरीका सवारी साधन भने यथावत सञ्चालन हुने सरकारले जनाएको छ।


















