Prakash Adhikari March 24, 2020

काठमाडौं, ११ चैत्र । नर्भिक अस्पतालका अध्यक्ष एवम् चर्चित व्यवसायी बसन्त चौधरीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि १ करोडको सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा नगद ५० लाख सहयोग गर्ने बताउनुभएको छ भने रु ५० लाख बराबरको स्वास्थ्य उपकरण र सामग्रीहरु प्रदान गर्ने बताउनुभएको छ । उहाँले नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट उक्त सहयोग गर्न लागेको बताउनुभएको छ। उहाँले सरकारलाई दिने ५० लाखका स्वास्थ्य सामग्रीको सूची ‘स्वास्थ्य मन्त्रालयमार्फत माग गरिएको बताउनुभएको छ ।

यस अगाडि नै नर्भिक अस्पतालले सरकारी चिकित्सक तथा स्वास्थयकर्मीको लागि भन्दै १७ हजार मास्क प्रदान गरेको छ।

नर्भिकले डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले प्रयोग गर्ने १५ हजार ‘थ्रि प्लाइ’ र २ हजार ‘थ्रिएम एन नाइन्टिफाइभ’ मास्क सरकारलाई हस्तान्तरण गरेको चौधरीले बताउनुभएको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र संक्रमित विरामी उपचारको लागि पनि नर्भिक अस्पतालले काम गरिरहेको जनाइएको छ । अध्यक्ष चौधरीका अनुसार अस्पतालमा फिभर क्लिनिक र १५ सैय्याको आइसोलेसन वार्ड पनि तयार गरिएको छ।

साहित्यकार समेत रहनुभएका उद्योगी चौधरीले कोरोना भाइरससम्बन्धी यस्तो मार्मिक गीत पनि रचना गर्नुभएको छ :

उद्धार गरौं मानवताको यो, विषाणुको संहार गरी
अन्त गरौं यस निशाचरको, आऊ मिली विश्वभरि

मानवताको बिषालु बैरी, दानव यो अत्याचारी
बज्र परे झैं बज्रिन्छ यो, विनाशकारी अहंकारी
त्यसकारण बादल उठ्नुअघि, वर्षौं हामी प्रचण्डसरि
अन्त गरौं यस निशाचरको आऊ मिलेर विश्वभरि

साहसभन्दा ठूलो अरु, दुनियाँमा कुनै शस्त्र छैन
स्वानुशासनभन्दा अचुक, यो लडाइँको अस्त्र छैन
स्वविवेक र धीरताले, पारौं यसलाई धूलोसरि
अन्त गरौं यस निशाचरको आऊ मिलेर विश्वभरि

ठमेल, शनिवार चैत्र ८, २०७६

Share Now

Leave a comment.