Prakash Adhikari March 24, 2020

काठमाडौं,११ चैत । कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र रोकथामको लागि सरकारले स्थापना गरेको कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यहरुले आफ्नो १५ दिनको पारिश्रमिक बराबरको सहयोग दिने भएका छन् ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले यसको जानकारी दिनुभएको हो।

सत्तारुढ नेकपाबाट प्रतिनिधिसभा १ सय ७४ र राष्ट्रियसभामा ५० जना सांसद्ले प्रतिनिधित्व गर्दछन्।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कोषमा दुई महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ भने उपराष्ट्रपतिले नन्दबहादुर पुनले एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।

कोषमा प्रतिनिधिसभाका सभामुख कृष्णप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहालले ले पनि १ । १ महिनाको पारिश्रमिक बराबरको रकम दिने घोषणा गर्नुभएको छ ।

त्यस्ते समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ।

Share Now

Leave a comment.