काठमाडौं, ११ चैत्र । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल(भारत नाकामा अलपत्र परेका नेपालीहरूलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय लिएको छ।
स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि उनीहरू अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ।
हाल पूर्व,दक्षिण र पश्चिमका कैयौँ नाकामा सयौँका सङ्ख्यामा भारतबाट फर्किएका नेपालीहरू अलपत्र रहेका तथा कतिपय ठाउँमा उनीहरू र सुरक्षाकर्मीबीच झडप भएका विवरण आएका छन्।
मन्त्री पोखरेलले भन्नुभयो, ‘हामीले एक पटकका लागि प्रवेश गर्न दिने निर्णय गरेका छौ। तर नेपाल प्रवेश गरेकाहरुले क्वारन्टाइनमा बाध्यात्मक रूपमा सबैले बस्नुपर्ने हुन्छ।’

नेपालभित्रै पनि आवतजावत ठप्प भएको सन्दर्भमा प्रदेश सरकारको संयोजकत्वमा संयन्त्र बनाएर उनीहरूलाई घरसम्म पुग्ने व्यवस्था गरिनेछ।
विदेशमा रहेका नेपालीहरू कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि देखिएको विपद्को घडीमा आफू बसेकै स्थानमा बसून् भनेर सरकारले कूटनीतिक ढङ्गले पहल गर्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ।


















