जेनेभा(स्वीजरल्याण्ड), १७ चैत्र । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर तीन हजार ९५ जनाको मृत्यु हुन गएको छ ।
ंसोमबार बिहानसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३३ हजार ९ सय ५६ पुगेको छ।
कोरोना भाइसबाट विश्वभर हालसम्म ७ लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन्। आइतबार एकै दिन विश्वमा ५८ हजार २ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।
संक्रमितमध्ये अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचारपछि पूर्ण रुपमा निको भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउने विश्वका १० मुलुकमा क्रमशः इटाली, स्पेन, चीन, फ्रान्स, इरान, अमेरिका, युके, नेदरल्यान्ड, जर्मनी र बेल्जियम रहेका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनका बिरामीले ज्यान गुमाएका छन् । आइतबार स्पेनमा ८ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
त्यहाँ हिजो एकै दिन झण्डै ७ हजार नयाँ संक्रमित थपिएका छन्। स्पेनमा अहिलेसम्म ६ हजार ८ सय ३० जनाको मृत्यु भइसकेको छ।
आइतबार इटालीमा कोरोना संक्रमणबाट ७ सय ६५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भइसकेको छ। त्यहाँ ९७ हजार ६ सय ८९ जना संक्रमित भएका छन्।
अमेरिकामा आइतबार कोरोना संक्रमणबाट २ सय ५५ जनाले ज्यान गुमाएका संगै यो भाइरसको संक्रमणबाट मर्ने बिरामीको संख्या २ हजा ४ सय ७५ जना पुगेको छ। कोरोना संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएको छ । त्यहा हालसम्म एक लाख ४१ हजार ८ सय ५४ जना संक्रमित भेटिएका छन् ।
फ्रान्समा आइतबार कोरोना संक्रमणबाट २ सय ९२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एकै दिन २ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। फ्रान्समा अहिलेसम्म २ हजार ६ सय ६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने संक्रमितको संख्या ४० हजार नाघेको छ।
त्यसैगरी बेलायतमा आइतबार २ सय ९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १ हजार २ सय २८ पुगेको छ। बेलायतमा संक्रमितको संख्या १९ हजार नाघेको छ। हिजो एकैदिन त्यहाँ २ हजार ४ सय ३३ जना नयाँ संक्रमित फेला परेका छन्।
जर्मनीमा आइतबार एकैदिन कोरोना संक्रमणबाट १ सय ८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या ६२ हजार नाघेको छ।
इरानमा कोरोना संक्रमणबाट आइतबार १ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म २ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ३८ हजार नाघेको छ।
त्यसैगरी नेदरल्यान्डमा आइतबार कोरोना संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ हिजो एकै दिन १ हजार १ सय ४ जना नयाँ संक्रमित थपिएका छन्।
नेदरल्यान्डमा संक्रमितको संख्या करिब ९ हजार पुगेको छ भने मृतकको संख्या ७ सय ७१ पुगेको छ।
त्यसैगरी बेल्जियममा आइतबार ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ ४ सय ३१ जनाको मृत्यु भइसकेको छ।
संक्रमण नियन्त्रण हुँदै गएको चीनमा यसको संक्रमणबाट अहिलेसम्म ३ हजार ३ सयले ज्यान गुमाइसकेका छन्।
अहिलेसम्म विश्वका १ सय ९९ देशमा यसको संक्रमण फैलिइसकेको छ।