काठमाडौ, २० चैत्र । कुमारी बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको नियन्त्रण,रोकथाम र उपचारको लागि नेपाल सरकारले आह्वान गरे अनुरुप सहयोग गर्ने भएको छ ।
बैकले कोरानाभाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा विरामीको उपचारको निमित्त प्रदेश सरकारको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले हरेक प्रदेशलाई १० । १० लाख रुपैयाको दरले ७० लाख रुपैया सहयोग गर्ने जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गर्ने छ । कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न र सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो सहयोग उपयोग हुने बैंकले विश्वास लिएको छ ।
यही चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै कारोना संक्रमण नियन्त्रण, रोकथाम र बिरामी उपचारको लागि गरिएको सहयोग प्रक्रियाको शुभारम्भ गर्र्नुभएको छ ।
बैंकले लकडाउनको यस विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।


















