Prakash Adhikari April 3, 2020

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गनुभएको छ ।

नेता पौडेलले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरि कारवाही हुनुपर्ने माग गर्नुभएको हो ।

नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असंतुष्टी जनाउनुभयो । उहाँले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जी मार्फत खरिद संभव नहुने बताउने तर मन्त्रीपरिषदले त्यही निर्णय गरेर आम नागरिकमा दुविधा बनाएको उल्लेख गर्नुभयो ।

उहाँले यो सबै दुविधा कतै स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंका समेत व्यक्त गर्नुभयो । वरिष्ठ नेता पौडेलले सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको भन्दै सवै कुरा सेनालाई दिनुपर्ने अन्य क्षेत्रप्रति किन अविश्वास सृजना गरिदै छ भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनि प्रश्न गर्नुभयो ।

पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुुनाव कब्जा गर्ने मनोवृति देखिएको समेत बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताउनुभयो । उहाँले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टी भएको बताउनुभयो ।

उहाँले स्थानीय तहले क्वारेन्टाईन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसा समेत गर्नुभयो । पौडेलले स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षामता देखाउन सक्ने पनि स्पष्ट पार्नुभयो ।

पौडेलले राज्यले केही राम्रा काम गरेको भएपनि पर्याप्त काम गर्न नसकेको भन्दै असंतुष्टी जनाउनुभयो । उहाँले राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको बताउदै संकटका बेलामा राज्यको भूमिका खड्किएको आम नागरिकले महशुस गरेको बताउनुभयो ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई अपिल गर्नुभयो ।

कांग्रेस नेता पौडेलले कोरोना भाइरसका कारण विश्वमा बजारीकरणका कारण हराउदै गएको मानवीयता र वातावरण विरोधी कामको समीक्षा गर्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

उहाँले विश्वलाई बजारीकरणका कारण गुमाउदै गएको मानव मानव बीचको सदभाव र मानवीयता देखाउने अवसर मिलेको पनि बताउनुभयो । उहाँले अब विश्वले विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । पौडेलले विकासको मोडेल परिवर्तन गरि प्रकृति मैत्री विकासको मोडेललाई आगाडि बढाउन विश्व लाग्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संक्रमण फैलिएका मुलुकबाट आएका नागरिकको पहिचान गर्न नसकेको कारण आम नागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफुलाई पुर्याउदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई संकटमा सहयोग गर्न समेत अपिल गनुभएको छ ।

बरिष्ठ नेता पौडेलले आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई स्थानीय स्तरमा आफै निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफु र आफ्नो समाज जोगाउने काम लाग्न समेत निर्देशन दिनुभएको छ ।

Share Now

Leave a comment.