Prakash Adhikari April 4, 2020

 

धनगढी(कैलाली),२२ चेत्र । कैलाली र कञ्चनपुरमा ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमार्फत यसको जानकारी दिएको हो ।

शनिबार थपिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् ।

सातौं संक्रमित व्यक्ति धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।

आठौँ संक्रमित लम्की कैलालीका २१ वर्षीय पुरुष हुन । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।

नवौँ संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।

संक्रमितका आफन्तलाई संक्रमण देखिनुलाई चिकित्सकहरुले कोरोना संक्रमणको लोकल ट्रान्समिसन मानेका छन् ।

‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार बिरामीबाट आफन्तमा सर्ने चरणलाई संक्रमणको दोस्रो चरण मानिन्छ । छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।

कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुनेछ । यस अगाडि भने विदेशबाट नेपाल फर्किएकाहरुमा मात्र यस्तो संक्रमण देखिएको छ ।

Share Now

Leave a comment.