Prakash Adhikari April 12, 2020

 

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसले आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने उद्देश्यले कोरोनाको ‘स्व–परिक्षण वेब एप’ निर्माण गरी सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना,सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले विशेषज्ञ चिकित्सकहरुको परामर्श र सूचना प्रविधिमा कार्यरत इञ्जिनियरहरुको सहयोगमा विभागले निर्माण गरी सो वेब एप सार्वजनिक उपयोगको लागि ल्याइएको बताउनु भएको छ ।

नेपाली कांग्रेसका प्रवक्त शर्माका अनुसार यो एपको उपयोग गरी घरमै बसेर कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको जो कसैले परीक्षण गर्न सक्नेछन् र कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण तथा उपचारका लागि प्रेरित गर्न यसले सघाउने छ । यसले लकडाउनको समयमा सन्देहास्पद अवस्थामा रहेकाहरुलाई मानसिक तनावबाट मुक्ति पनि दिनेछ ।कोरोना स्वपरीक्षणको लागि यो लिंकमा जानुहोस् :

https://www.nepalicongress.org/covid19/#

कांग्रेस प्रवक्ता शर्माका अनुसार नागरिक स्तरमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने,भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको हालको अवस्थामा ठूलो संख्यामा स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने उद्देश्यले यो एपको निर्माण गरी उपयोगको लागि सार्वजनिक गरिएको हो ।

 

नेपाली कांग्रेसले नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. अनिलविक्रम कार्की र फोक्सो विशेषज्ञ डा. अशेष ढुंगानाको चिकित्सकीय परामर्शको आधारमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका पूर्व केन्द्रीय सदस्य, ई. शशांकश्री न्यौपाने, पूर्व महासचिव ई. दीपेश बिष्टले सो एप निर्माण गर्नुभएको हो ।

सो एपमा उपयोगकर्ताको व्यक्तिगत विवरण, स्वास्थ्य वा आफूमा निहित रोगको विवरण, हालै रुघा,खोकी,ज्वरो,हल्का पखाला आदि देखिए नदेखिएको, कोरोना संक्रमित मुुलुकमा भ्रमण गरे नगरेको, विदेश भ्रमणमा गए नगएको,कोरोना रोगका संक्रमित विरामी तथा उनका निकटस्थ व्यक्तिहरुसंग भेट गरे नगरेको जस्ता सूचकहरुको जवाफ दिएपछि स्वचालित रुपमा यहाँलाइ कोभीड १९ को जोखिम न्यून छ वा देखिएको छ भन्ने नतिजा आउने छ ।

सो एपले सबैलाई भौतिक दुरी कायम गर्ने गर्नुहोस , भाइरस फैलनबाट रोक्नुहोस । अत्यावश्यक काममा घरबाट निस्केको बेलामा कम्तीमा ६ फुटको दुरी कायम गर्नुहोस र भिडभाडबाट टाढा रहनुहोस भन्ने सन्देशसहित व्यक्तिगत सरसफाइमा ध्यान दिन,हाच्छिउं गर्दा वा खोक्दा सफा कपडा वा टिस्यु पेपरले नाकमुख छोप्न, प्रयोगपश्चात् टिस्यु ढक्कन भएको डस्टबिनमा फाल्न, पटकपटक साबुन पानीले हात मिचिमिचि २० सेकेन्डसम्म धुन र स्प्रिट या अल्कोहलयुक्त सेनिटाइजर को प्रयोग गर्नु पनि सो एपले सुझाव दिनेछ ।

Share Now

Leave a comment.