गौर(रौतहट), १ बैशाख । रौतहट जिल्लामा क्वारन्टाइनमा रहेका एक १९ वर्षीय युवकमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल १४ जनामा कोभिड १९ देखिएको छ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले उनको उपचार प्रकिया अघि बढाइएको जानकारी दिनुभएको छ।
डा. देवकोटाल शनिबार भेटिएका नयाँ संक्रमितसँग जोडिएका कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको जानकारी दिनुभयो।
नेपालमा कोरोनाभाइरस
सङ्ख्यामा सङ्क्रमण ९वैशाख १, दिउँसो ४ बजेसम्म प्राप्त तथ्याङ्क
१४ :पुष्टि भएको
१ : निको भएको
५२ जिल्लामा RSR( र्यापिड डाईअग्नस्टिक टेस्ट) किटबाट परीक्षण
स्रोतः स्रोतः covid19.mohp.gov.np
त्यसअघि वीरगञ्जबाट कैलालीको लम्कीचुला आएकी एक महिलामा गरिएको नमुना परीक्षणमा कोभिड १९ को सङ्क्रमण देखिएपछि उनको स्वास्थ्य उपचार थालिएको सेती प्रादेशिक अस्पतालले जनाएको थियो।
अस्पतालका वरिष्ठ इमर्जेन्सी विशेषज्ञ तथा प्रवक्ता डाक्टर जगदिश जोशीले कैलालीको लम्कीमा १२ दिन क्वारन्टाइनमा बिताएर घर गएकी ती महिला अस्पताल भर्ना भएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार स्वाब परीक्षणको नतिजाले कोभिड १९ पोजेटिभ देखाएको थियो।
यो सँगै सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को पाँच वटा सङ्क्रमण देखा परेका छन्।
कैलालीमा ती महिलासँगै आएका मानिसहरूको सम्पर्कमा पुगेका र भारतबाट नेपाल भित्रिएका गरि करिब ४ सय जनाको परीक्षण र नमुना सङ्कलन भइरहेको एक जना स्थानीय अधिकारीले बताउनुभएको छ।
कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईँले बीरगञ्जबाट लम्की आएका १८ जनाको पीसीआर विधिबाट गरिएको जाँचमा १ जना वृद्धामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बीबीसीलाई जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, उहाँसँगै आएका १७ जनाको पीसीआर र र्यापिड टेष्ट दुवै विधिबाट जाँच गरेका थियौँ। र्यापिड जाँचको विधिबाट सङ्क्रमण नदेखिएपछि क्वारन्टीनस्थलबाट घर पठाइएको थियो। तर अहिले पीसीआर विधिको जाँचबाट एक जनामा सङ्क्रमण देखिएपछि उहाँहरू र उहाँसँग सम्पर्कमा आएका गरी करिब ४० जनालाई क्वारन्टीनमा राखेका छौँ।ू
उहाँले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जानकारी दिनुभयो।
सङ्क्रमण
प्रादेशिक निकायबाट आएका स्वास्थकर्मीले वीरगञ्जबाट आएको समूहसँग सम्पर्क गरेकाले क्वारन्टाइनमा राखिएका र भारतबाट आएकासहित शङ्का लागेका विभिन्न ४ सय जनाको लम्कीमा सोमबारबाट परीक्षण अघि बढाएको उहाँले जानकारी दिनुभएको छ।
यसअघि नेपालमा पहिलो पटक समुदाय स्तरमा सरेको भनिएको कोरोना भाइरसको सङ्क्रमण पनि कैलालीमै देखिएको थियो।

कैलालीमा उनी सहित चार जना र कञ्चनपुरमा एक जना गरी सुदुरपश्चिम प्रदेशमा पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
आइतवारमात्रै स्वास्थ्य मन्त्रालयले वीरगञ्जको छपकैयास्थित मस्जिदमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड १९ भेटिएको बताएको छ।
उनीहरू तीनै जना भारतीय नागरिक भएको अधिकारीहरूले पुष्टि गरेपनि उनीहरूले नेपालमा कहाँ कहाँ यात्रा गरे र उनीहरूले कस्ता कस्ता सम्पर्क कायम गरे भन्ने खुलिसकेको छैन्।
३७, ५५ र ४४ वर्षका ती पुरुषहरूको हाल नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा अलग अलग राखेर उपचार भइरहेको छ।
उनीहरूसँग सम्पर्क कायम गरेका भनिएका पर्सा जिल्लामा विभिन्न मस्जिदमा रहेका २८ जनाको परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभएको छ।
त्यसबाहेक छपकैया टोलका ५९ जनाको र्यापिड कीटबाट जाँच गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो।
कैलाली र रौतहटका पछिल्ला सङ्क्रमणसँगै नेपालमा हाल कोभिड १९ देखिएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सबैभन्दा पहिला सङ्क्रमण देखिएका भनिएका एक व्यक्ति निको भएर घर फर्किसकेका छन्।


















