काबुल(अफगानिस्तान), ७ माघ । अफगानिस्तानका अधिकारीहरूले राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा कम्तीमा चारजना बन्दुकधारीले हमला गरेको बताएका छन्।
आन्तरिक मामिलासम्बन्धी मन्त्रीका प्रवक्ताले विशेष फौजले चारमध्ये दुईजनालाई मारिदिएको र अन्य हमलाकारीसम्म पनि पुग्ने प्रयास गरिरहेको बताएका छन्।
बन्दुकधारीहरू शनिबार राति होटलमा प्रवेश गरेर होटलका पाहुना र कर्मचारीमाथि गोलि चलाएका थिए र ग्रिनेड विस्फोट गराएका थिए।
अधिकारीहरूले ती बन्दुकधारीको आक्रमणमा परी कम्तीमा पाँचजना घाइते भएको बताएका छन् तर कति मानिसहरू मारिए भन्ने चाहिँ स्पष्ट भएको छैन।
हमला
पाँच तल्ले भवनमा स्थानीय समय अनुसार राति ९ बजेतिर हमला शुरू भएको बताइएको छ।
बन्दुकधारीहरूले होटलमा प्रवेश गर्नका लागि पहिला होटलका सुरक्षागार्डमाथि गोलि चलाएका विवरणहरू आएका छन्।
सुरक्षा फौज आइपुग्नु अघि ती बन्दुकधारीहरूले होटलका कर्मचारीहरू र पाहुनामाथि गोलि हान्न थालेका थिए।
सुरक्षा फौज आइपुगेपछि उनीहरूले शुरुमा होटलको भुइँतल्ला खाली गरे तर हमलाकारीहरू अझै होटलको माथिल्लो तल्लामा रहेको आन्तरिक मामिला सम्बन्धी मन्त्रीका प्रवक्ता नसरत रहिमीले बीबीसीलाई बताए।
सुरक्षा
उक्त होटलमा प्रान्तीय अधिकारीहरूको सूचना प्रविधिसम्बन्धी सम्मेलनको आयोजना भएको खबरहरू आएका छन्।
काबुलस्थित अमेरिकी दूतावासले सहरका होटलहरूको सुरक्षाबारे सचेत रहन भनेको केही दिनमै होटलमा यस्तो हमला भएको हो।
यो होटल त्यही हो जहाँ सन् २०११ मा तालिबानले पनि हमला गरेको थियो।
त्यतिबेलाको हमलामा जम्मा २१ जनाको ज्यान गएको थियो।(बीबीसी)