काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको संलग्नतामा सांसदको अपहरा हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।
शुक्रबार अपरान्ह ४ बजेदेखि आरम्भ भएको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा बोल्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु ।
कांग्रेस सभापति देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप पनि लगाउनुभयो ।
उहाँले भन्नुभयो,’ विपक्षी लगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित षड्यन्त्र थियो ।’
·कांग्रेस सभापति देउवाले कोरोनासंग जुध्न अत्यावश्यक पिपिइ, परिक्षण कीट लगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ भन्दै समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मुल्य भन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य भएको बताउनुभयो ।
प्रतिपक्षी दलका नेता देउवाले दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कार्वाही गर्न म माग पनि गर्नुभयो ।
संकटका बेला ‘सरकारमा नरहेर पनि जनताको हितको लागि सरकारलाई साथ दिन सकिन्छ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य गरिरहेको पनि उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न आ(आफ्नो तर्फवाट निरन्तर कार्य गर्न आव्हान गरेको बताउदै उहाँले सबै साथीहरुले जिम्मेवारीपूर्वक कार्य गरि रहनु भएको दाबी गर्नुभयो ।
उहाँलेकोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने बिषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नीतिलाई हामी निरन्तरता दिइने पनि बताउनुभयो ।
कांग्रेस सभापति देउवाले लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पारेको र सरकारले पर्याप्त तयारी पुर्याउन नसक्दा र अत्यावयकिय क्षेत्रमा राहत नदिंदा हजारौं श्रमिक पैदल हिंडेर गाउँ फर्किन बाध्य भएको बताउदै उहाँले भन्नुभयो,” न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो ब्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यवाट सहज रुपमा तत्काल राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् ।”
‘सुकुम्बासीलाई जाउलो पुर्याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क थिएन’,उहाँले भन्नुभयो , ‘श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायी देखि साना ब्यापारी हुंदै उद्योगी ब्यवसायी सम्मलाई विविध ढंगले राहत दिने वृहत्तर प्याकेज निर्माण, घोषणा र यथाशीघ्र कार्यान्वयन गर्न म सरकार समक्ष माग गर्दछु ।’
कांग्रेस सभापति देउवाले पर्याप्त स्वास्थ सामग्री अभावका बीचमा उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरिरहनु भएका सबै आदरणीय स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्नुभयो भने अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाईको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको प्रशंशा गर्नुभयो ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले कोरोनाका कारण उत्पन्न अनेक जटिलतालाई असीम धैर्यसाथ सामना गरिरहनु भएका स्वदेश र विदेशका समस्त नेपालीको धैर्यको प्रशंसा गर्दै आजको बिषम परिस्थितिलाई संयम र एकतासाथ सामना गर्न अपिल गर्नुभयो ।
आफ्नो संबोधनमा कांग्रेस सभापति देउवाले कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध हुन अपिल गर्दछु ।’
कांग्रेस सभापति देउवाले भने कोरोना संक्रमित भई नेपाल भित्र र बाहिर उपचार गरिरहनुभएका सबै नेपालीको सिध्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले भाइरस अर्थात कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पनि प्रकट गर्नुभयो ।


















