Prakash Adhikari May 9, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २७ बैशाख (एजेन्सी) । अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति दुवैका निकट सहयोगीमा कोरोनाभाइरस संक्रमण देखिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सुरक्षमा रहने एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि शुक्रबार उपराष्ट्रपति माइक पेन्सीकी प्रेस सेक्रेटरी केटी मिलरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

योसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स दुवैलाई उच्च निगरानीमा राखेर कोरोना रहेरनरहेको निर्क्योल गर्न दैनिक परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन्। ह्वाइट हाउसमा रिपब्लिकन नेतासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, ‘लामो समयसम्मको परीक्षणमा केटीमा संक्रमण देखिएको थिएन। तर शुक्रबार अचनाक उनी संक्रमित रहेको पुष्टि भयो।’

केटीमा कोरोनाभाइरस संक्रमण देखिएपछि उपराष्ट्रपति कार्यालयका १० जना सहयोगीहरुको दिनहुँ परीक्षण गर्न थालिएको छ ।

यता सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पका एक सहयोगीमा पनि कोरोना संक्रमण भएको बताएको छ । राष्ट्रपति ट्रम्पकी सल्लाहकार रही इभान्काका एक सहयोगी केही हप्तादेखि कामबाट छुट्टि लिएर बसेका छन् । तर नियमित परीक्षणमा इभान्का र उनका पति जारेद कुर्शदलाई कोरोना संक्रमण देखिएको छैन ।

संयुक्त राज्य अमेरिकी हाल विश्वमा कोरोना भाइरसबाट अत्यधिक प्रभावित मुलुकमा पर्दछ । वल्र्डोमिटर इन्फोका अनुसार त्यहाँ अहिलेसम्म कोरोनाबाट ७८ हजार ६ सय १६ जनाको मृत्यु भइसकेको छ भने १३ लाख २२ हजार १ सय ५४ जना संक्रमित भइसकेका छन्।

Share Now

Leave a comment.