काठमाडौं, २७ बैशाख(रासस) । नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको काम चीनको ग्वान्जाओमा सुरु भएको छ ।
सेनाले कोभिड–१९ को सक्रमणसँग जुध्न आवश्यक स्वास्थ्य सामग्री स्थल तथा हवाई दुवै मार्गबाट ल्याउने व्यवस्था मिलाएको छ । प्रवक्ता पाण्डेका अनुसार चीनको ग्वान्जाओमा भन्सार प्रक्रियाका लागि लेबलिङको कार्य सुरु भएको छ ।
चीन सरकारले गत अप्रिल १० देखि मेडिकल सामग्री निर्यात गर्नुपूर्व भन्सारबाट ‘लेबलिङ र सर्टिफिकेसन’ प्रक्रियालाई थप कडाइ गरेको छ । सेनालाई चीनबाट प्राप्त विवरण अनुसार सो प्रक्रिया पूरा गर्न ३ देखि ५ दिन लाग्न सक्ने छ ।
भन्सार प्रक्रिया सम्पन्न हुने बित्तिकै नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले २ वटा उडान गरी ३७ मेट्रिक टन सामान ल्याउने छ ।
हिँडे केही कन्टेनर
चीनको ग्वान्जाओबाट स्थलमार्ग हुँदै २४० क्यूबिक मिटर सामान नेपालतर्फ आइरहेको छ । यस्तै, थप ३०० क्यूबिक मिटर स्वास्थ्य सामग्री आजै नेपालतर्फ ल्याउने तयारी गरिएको छ । चीनको ग्वान्जाओमा छिमेकी मित्र राष्ट्र चीनमा अन्तराष्ट्रिय मजदूर दिवस लगायतका सार्वजनिक विदा परेका कारण स्वास्थ्य सामग्री ल्याउन केही दिन ढिलाई भएको हो ।
सेनाले स्वास्थ्य सामग्री खरिदका लागि सरकारी–सरकारी तह (जीटुजी) मा प्रक्रिया अगाडि बढाएको थियो । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याउने गरी व्यवस्था मिलाइएको हो ।
सेनाले केही दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।
कुल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता भएको छ । चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री (पीपीई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीट लगायत अत्यावश्यक सामग्री ल्याइने छ । त्यस्तै, भारतबाट पनि ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ ।


















