काठमाडौं, २९ बैशाख । कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो।
संक्रमितहरु कपिलवस्तुका यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका निवासी हुु । उनीहरुमा १८ देखि ३४ बर्षका रहेका छन् ।
मन्त्रालयले कोरोना भाइरस संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएको जनाएको छ।
यो संगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट विरामी भएकाहरुको संख्या १ सय २० पगेको छ ।
संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्।
मन्त्रालयले वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको जनाएको छ।
नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्।
मुलुकभर १३ हजार ६ सय २५ जनालाई कोरोना संक्रमणबाट बचाउन क्वारेन्टाइनमा राखिएको तथ्यांक छ।


















