Prakash Adhikari May 12, 2020

 

काठमाडौं, ३० बैशाख । नयाँ बर्ष २०७७ को पहिलो सेयर कारोबार आज(मंगलबार) हुँदैछ । कोरोना भाइरसबाट देश र जनतालाई बचाउन सरकारले २०७६ सालको चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन सुरु गरेदेखि नेपालको सेयर बजार बन्द रहदै आएको थियो ।

सरकारले बैशाख २६ गतेदेखि लकडाउन केही खुकोलो गरी कोरोना संक्रमणको संभावना न्यून भएका क्षेत्रमा र सामाजिक दूरी कायम गरी गर्न मिल्ने आर्थिक गतिविधि सुचारु गर्ने निर्णय गरे पछि यस क्षेत्रका नियामक र सरोकारवालाहरु बीचको आपसी छलफलका आधारमा नेपाल धितोपत्र बोर्डले बैशाख २६ गते धितोपत्रको बजार सञ्चालन गर्ने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो ।

बोर्डका निर्देशन पालना गर्दै नेपाल स्टक एक्चेञ्जले २८ गते एक सूचना जारी गरी आजदेखि धितोपत्रको खरिदबिक्रीको बजार खोल्ने जानकारी दिएको हो।

देशभर लकडाउनको अवस्था कायमै रहेको र सामाजिक दूरी कायम गरेर कारोबार गर्नु पर्ने भएकोले नियमनकारी निकाय धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले कारोबार समय भने घटाउने निर्णय गरेका छन् ।

आजदेखि खुल्ने सेयर बजारको कारोबार समय विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कायम गरिएको छ । पहिले ११ बजेदेखि ४ बजेसम्म बजार खुल्ने व्यवस्था थियो ।

त्यसैगरी दैनिक प्रारम्भिक कारोबार मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन गर्न सकिने छ। यसअघि ५ प्रतिशतसम्म घटि वा बढी गर्न पाइने व्यवस्था थियो ।

त्यसैगरी कारोबार सुरु भैसकेपश्चात कुनै पनि कम्पनीको सेयरमूल्य २ प्रतिशत मात्र घटबढ गरी कारोबार गर्न सकिने छ। कुनै पनि कम्पनीको समग्रमा ३ प्रतिशतभन्दा बढी घटबढ गर्न नपाईने व्यवस्था गरिएको छ। यसअघि १० प्रतिशत सम्म घटबढ हुने गरेकोमा हाललाई ३ प्रतिशत मात्र घटबढ हुने व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार नेप्से सूचक २ प्रतिशतभन्दा धेरै घटे वा बढे सो दिनको लागि सेयर कारोबार बन्द गरिने छ।यसअघि कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनटका लागि र कुनै पनि बेला ६ प्रतिशतले बजार घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको थियो।

त्यसैगरी मंगलबारदेखि लगानीकर्ताले आफ्नो खातामा भएको शेयर मात्रै बेच्न पाउने भएका छन्। नेप्सेले लगानीकर्ताले कारोबारको आदेश प्रविष्ट गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था गरेको छ जसले गर्दा अब लगानीकर्ताले खातामा नआएको सेयर बेच्न पाउने छैनन्। यसअघि लगानीकर्ताहरुले आफुले खरिद गरेको सेयर खातामा नआइकन बेच्दै आएका थिए।

त्यसैगरी सेयर बिक्रीको भुक्तानी अनिवार्य रुपमा आइपीएस वा विद्युतिय माध्यमबाट गर्नुपर्ने व्यवस्था गरिएको छ। धितोपत्र खरिद गर्दा समेत आइपिएस वा अन्य विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने नेप्सेले जनाएको छ।

लगानीकर्ताले सेयर बिक्री गर्दा मेरो सेयर खाता खोली सोहि खातामार्फत इडिआईएस मार्फत राफसाफ गर्नुपर्ने छ। मेरो सेयर खाता खोल्दा आगामी आषाढ मसान्तसम्म कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

ब्रोकर कम्पनीले केन्द्रीय निक्षेप प्रणालीबाट आउने बेस प्राइसलाई समेत अब विद्युतीय माध्यमबाटै प्रविष्ट गराउने व्यवस्था गरिएको छ।

Share Now

Leave a comment.