काठमाडौं, ९ जेठ । नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएकाहरूको सङ्ख्या ४ सय ५७ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार बिहीवार साँझ ७ : ३० बजेसम्मको तथ्यांक अनुसार यो संख्या कायम भएको हो ।
मन्त्रालयले पछिल्लो पटक थप तीनजनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार बाँके नरैनापुरका एक पुरुष, खजुराकी एक महिला र कपिलबस्तुका एक पुरुषको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभएको छ।

यसअघि बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपरान्ह रूपन्देहीमा एक र झापामा आठ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभएको थियो ।
नेपालमा हालसम्म पुष्टि भएका कोरोना भाइरसका सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।
तीमध्ये दुई पुरुष र दुई महिला बिहीवार टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डा. देवकोटाले बुटवलको अस्पतालमा भएको मृत्युको पनि पुष्टि गनुभएको छ।
सरकारले अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ परीक्षण गरेको जनाएको छ।
मन्त्रालयले बिहीवार बिहान धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको थियो।
क्वारेन्टाइनमा कति ?
अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।
मन्त्रालयका अनुसार अहिले देशभरि २५ हजार ३० जना क्वारेन्टाइनमा र ४ सय १ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।
प्रदेश नं ५ मा सर्वाधिक १४ हजार ७ सय ६० र त्यसपछि प्रदेश नं २ मा ४ हजार ९ सय ६६ जना क्वारेन्टाइनमा छन्। वाग्मती र गण्डकी प्रदेशमा क्रमशः ५ सय २८ र ५ सय ९१ जना क्वारेन्टाइनमा छन्।
सङ्क्रमित कहाँका ?
मन्त्रालयका अनुसार झापा कचनकवल गाउँपालिकाको क्वारन्टीनमा रहेका २३ जनामा आझ सङ्क्रमण पुष्टि भएको हो।
बिहान १५ जना र अपराह्ण आठ जना पुष्टि भएका उनीहरू सबै भारतबाट फर्किएका हुन्।
योसँगै झापामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ।
अन्य सङ्क्रमितहरू भने रुपन्देही र धनकुटाका एक(एक पुरुष र धरानका एकजना पुरुष र धरानकी एकजना महिला रहेका छन्।


















