Prakash Adhikari May 22, 2020

सानेपा (ललितपुर), ९ जेठ । नेपाली कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सरकारको नीति तथा कार्यक्रम नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको प्रभाव न्यूनीकरणमा चुकेको तथा अति राष्ट्रवादी देखिने नाममा सरकारले सीमा समस्यालाई उत्तेजना फैलाउन दुरुपयोग गरेको आरोप लगाएको छ ।

जुम कन्फरेन्सका माध्यमबाट यही २०७७ जेठ ६ र ७ गते प्रतिष्ठानको पूर्ण बैठक सम्पन्न भएपछि बिहीबार प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालद्धारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

प्रतिष्ठानले भनेको छ, ‘सरकारले यो नीति तथा कार्यक्रम मार्फत कोभिड १९ र त्यसबाट पर्न सक्ने प्रभावलाई सम्बोधन गर्न सकेन । विदेशमा बसेर स्वदेशमा योगदान गरिरहेका तर फर्कन चाहने नागरिकलाई स्वदेश फर्काउने, उनीहरुकालागि रोजगारीको व्यवस्था गर्ने ठोस योजना छैन । सीमानाकामा अत्यन्त कष्टपूर्ण यातना सहेर बसेका नागरिकलाई समेत नीति तथा कार्यक्रमले आशालाग्दो आश्वासन दिएको छैन ।’

नीति तथा कार्यक्रम झिना मसिना कार्यक्रममा अल्झेको उल्लेख गर्दै प्रतिष्ठानले आर्थिक वर्ष नेपाल र नेपालीकोलागि कष्टप्रद हुने आशंका गरेको छ । उसले सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा लगायत महत्वपूर्ण क्षेत्रका लागि कुनै ठोस योजना नआउँदा आगामी वर्ष वेरोजगारीको समस्या अझ विकराल हुने निष्कर्ष समेत निकालेको छ ।

सरकारसँग खर्चगर्ने क्षमता नहुँदा पनि ठूलो बजेट बनाउने आशंका बढेको उल्लेख गर्दै कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले राजनीतिक रुपमा प्रदेश र स्थानीय तहको भूमिकाको अवमूल्यन गरिएको नीति तथा कार्यक्रमबाट गरीब जनता र तिनको सरकारको दुरी बढाएको ठहर गरेको छ ।

कांग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले कोरोनाबाट उत्पन्न हुने स्वास्थ्य संकट, खाद्यान्न संकट, अर्थव्यवस्थामा संकट तथा शिक्षा र रोजगारीमा व्यापक असर गर्ने, सुरक्षित मातृत्व, महिला बालबालिका सहित आमरुपमा परेको मनोवैज्ञानिक प्रभाव तथा वातावरणमा आउने असन्तुलन बारे व्यापक छलफल गरेको थियो ।

कोरोनाको कारण नेपालको समग्र आर्थिक,सामाजिक र राजनीतिक क्षेत्रमा पर्ने असरको बारेमा अझ गहन अध्ययन तथा अनुसन्धान हुनुपर्ने निष्कर्ष निकाल्दै बैठकले कोरोनाबाट बँच्ने र बँचाउने बारेमा नेपाल र विश्वका प्रचलित मापदण्ड अबलम्बन गर्दै कांग्रेसका कार्यकतालाई सचेत बनाएर आम नागरिकमा ब्यापक चेतना फैलाउन आवश्यक भएको पनि प्रतिष्ठानले उल्लेख गरेको छ ।

प्रतिष्ठानले विदेशमा बसेर स्वदेश फर्कन चाहने नेपालीहरुको उचित व्यवस्थापन गरी नेपाल आउन सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ ।

नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले कोरोना भाइरसको परीक्षणमा पीसीआर परीक्षणको दायरा विस्तार गर्न माग गर्दै कोरोनाको निशुल्क र प्रभावकारी परीक्षण गर्न सुझाव दिएको छ ।

कांग्रेसले कोरोनाको संकटबाट मुक्तभएपछिको आर्थिक र सामाजिक अवस्था सुधार्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कृषि उत्पादन बढाउन बेलैमा ध्यान दिन सरकारसमक्ष आग्रह पनि गरेको छ ।

बैठकले भारत र चीनसंगको सुमधुर सम्बन्ध र सीमा विवादका विषयमा वर्तमान सरकारको उत्ताउलो प्रस्तुति भएको निष्कर्ष निकालेको छ । सो बैठकले नेपाली कांग्रेसका नेताहरु वी. पी. कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मले सीमा समस्या समाधानका विषयमा प्रधानमन्त्री र राष्ट्रपतिको तहसम्म कुरा गरेर लिएका राष्ट्रिय अडानहरुको प्रशंसा गर्दै नेपाल कम्युनिष्ट पार्टीको सरकारले समस्याको तहसम्म पुगेर समाधानका प्रयास गर्नुभन्दा उत्तेजना फैलाउने काम गरेको आरोप लगाउदै भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको उत्तर दिनेक्रममा संसदीय मर्यादा र अभ्यास विपरित प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतीकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरु थपिएको छ ।’

बैठकले भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको लिपुलेक सडकको विषय गम्भीर र आपत्तिजनक भएको ठहर गर्दै सन २०१५ मा भारत र चीनले लिपुलेकबाट व्यवसायिक मार्ग खोल्ने सहमति गरेका समय नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशसंग आपत्ति प्रकट गर्नुभए पनि त्यसपछि आएको ओली नेतृत्वकै सरकार मौन बस्दा आजको परिणाम आएको ठोकुवा गरेको छ ।

बैठकले सगरमाथाका विषयमा चीनीया पक्षबाट पटकपटक दिइदै आएका विवादास्पद अभिव्यक्ति र दावीहरुको गहिराईमा पुगेर अध्ययन गर्नुपर्ने निष्कष पनि निकालेको छ ।

बैठकले लकडाउनको समस्या रहेसम्म जुम र यस्तै अरु डिजिटल माध्यमबाट प्रतिष्ठानका बैठक र प्रशिक्षणहरु सञ्चालन गर्ने, पार्टीका जिम्मेवार पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुलाई सूचना प्रविधिको प्रयोग बारे प्रशिक्षण दिने र प्रदेश १, २ र सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरुका लागि दिनुपर्ने प्रशिक्षण जुम वा यस्तै अरु उपलब्ध प्रविधिबाट सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिष्ठानले वन्दाबन्दीको पूर्ण पालना गर्दै समस्या समाधानको मार्ग लोकतन्त्र भन्ने नाराकासाथ जेठ १५ गते गणतन्त्र दिवस मनाउने निर्णय पनि गरेको छ ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेस केन्द्रीय समितिका उपसभापति विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकमा ३४ जना सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, आमन्त्रित रामजी दाहाल तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका पूर्व महासचिव ई. दीपेश विष्ट समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालद्धारा प्रस्तुत कार्यसूचि अनुसारका विषयमा डा. आरजु राणा देउवा, मनोहरनारायण श्रेष्ठ, रञ्जित कर्ण, गणेश मण्डल, डा.जगदीशचन्द्र पोख्रेल, डा. गोविन्दराज पोखरेल, खिलानाथ दाहाल, केशव निरौला, डा. प्रभु बुढाथोकी, छन्दबहादुर पहराई, डा।.कुसुमाकर न्यौपाने, राजु नेपाल, गेजा शर्मा वाग्ले, प्रमोदहरि गुरागाई, मोतीराज वम, भद्रा भण्डारी, डोल्मा तामाड., नानुमैयाँ वाँस्तोला, प्रसिस महरा, कृष्णबहादुर रोकाया, कमला लामिछाने, भगीरथ पोद्दार, दीपक अधिकारी, योगराज कंँडेल, लालबहादुर पुन, रामजी कँंग्रेन, मदन कट्टेल, नारायण सापकोटा, वीरेन्द्र साह, शम्भु जोशी र डा.सुस्मा तिवारीले आआफ्ना विचारहरु राख्नुभएको थियो ।

बैठकमा आमन्त्रित रामजी दाहालले संचारको भूमिका र आवश्यकता तथा . दीपेश विष्टले प्रविधिको उपयोग सम्बन्धमा विचारहरु प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समसायमयिक विषय सहित नेपाली कांग्रेसका गतिविधिहरुको जानकारी दिनुभएको थियो ।

बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथाम,नियन्त्रण तथा विरामीहरुको उपचारमा अग्रस्थानमा रहेर खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सञ्चारकर्मीहरुको कार्यको प्रशंसा गर्दै उनीहरुको स्वास्थ्यको सुरक्षाकालागि विशेष प्रोत्साहन प्याकेज तयार गर्नु जरुरी भएको पनि निष्कर्ष निकालेको छ ।

Share Now

Leave a comment.