काठमाडौं, १२ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको दोस्रो दिनको बैठक प्रधानमन्त्री ओलीको उपस्थिति बिनै चलिरहेको छ ।
स्थायी समिति सदस्य तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सञ्चार कर्मीहरुलाई दिनुभएको जानकारी अनुसार पहिलो शत्रमा नेपाल-भारत सीमा विवाद, सन् १८१६ देखिका सन्धि सम्झौतासहित नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयासबारे बैठकमा जानकारी गराउनुभएको थियो ।
उहाँले भारतद्धारा गत नोभेम्बरमा एकतर्फीरुपमा नेपालको कालापानीसहित महाकाली पूर्वका भूभाग भारततिर पारेर नक्सा प्रकाशनपछि उत्पन्न स्थिति, नेपालमा कालापानी, लिपुलेक,लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सर्वदलीय बैठकबाट नेपाल सरकारलाई दिएको म्याण्डेट, नेपालले भारतसंग सीमा विवादका सम्बन्धमा द्धिपक्षीय वार्ता गर्न गरेको प्रयास र भारतीय उपेक्षा, भारतद्धारा पिथौरागढ लिपुलेक सडक निर्माण र उद्घाटन, नेपालमा महाकालीपूर्वको भूमि फिर्ता लिन दलहरुले गरेको आग्रह, नयाँ नक्सा प्रकाशन र सो अनुरुप संविधानको अनुसूची अद्यावधिक गर्न सर्वदलीय सर्वसम्मति भएको संविधान संशोधन लगायत नेपाल र भारतबीच रहेको डुबान समस्याका बारेमा पनि बैठकमा जानकारी गराउनुभएको थियो ।
परराष्ट्र मन्त्री ज्ञवालीले ब्रिफिड. गरेपछि यसमा बोल्ने सदस्यहरुले छिमेकी भारतसँग प्रभावकारी ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् । बैठकमा नेकपाका नेताहरुले डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग सरकारले प्रभावकारी वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा नेपाल भारत सीमाका सम्बन्धमा लिलामणि पोखरेल, मात्रिका यादव, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा, पम्फा भुसालसहितका नेताले आफ्ना धारणा राख्नुभएको थियो ।
परराष्ट्रपछि कोभिड १९ को बारेमा उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले रिपोर्ट तयार भएपछि बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको नेता भट्टराईले जानकारी दिनुभएको छ ।
पूर्व निर्धारित कार्यसूची अनुसार पहिला हरेक एजेण्डमा सचिवालयका सदस्यहरुले धारणा राख्ने तय भएको थियो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपाको कार्यसूचि बदलिएको थियो ।
आफू बैठकमा उपस्थित नहुने भएपछि प्रधानमन्त्री ओलीले बैठकको अध्यक्षता गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई र बैठक सञ्चालन गर्न महासचिव विष्णु पौडेललाई सहमति दिनुभएको थियो ।
बैठकमा सीमा समस्याबारे बोल्न १० मिनेटको समय दिइएको थियो ।
शुक्रबार बिहान ११ : २० मा बालुवाटारमा सुरु भएको थियो ।


















