Prakash Adhikari July 18, 2020

काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

पार्टीभित्र जारी विवाद हल गर्नका लागि स्थायी समिति बैठक रोकेर सचिवालयको बैठक बालोइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो सवा ३ बजेबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल हादाल प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिनुभएको छ।

सचिवालय बैठकअगाडि सहमति जुटाउनका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव दुई घण्टा वार्ता भएको थियो।

बृद्धावस्था, दीर्घ रोग, नियमित औषधी सेवनको असर र निर्दलीय अधिनायकवादी शैलीले सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीको व्यहारको कारण उहाँलाई सरकार र पार्टी दुवै नेतृत्वबाट विस्थापन गर्न अधिकांश स्थायी समितिका सदस्यहरुले माग गर्दै आएका छन् ।

आफ्नो राजिनामा माग भएपछि प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक टार्र्दै आउनुभएको छ । स्थायी समितिको बैठकबाहिरबाट पार्टीको नेतृत्वलाई चुनौति दिंदै देश व्यापी शक्ति प्रदर्शनमा लाग्नुभएको छ ।

आफ्नो राजिनामा मागेपछि विक्षिप्त जस्तो बन्नुभएका प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक जारी रहदा रहदै आषाढ १४ गते बालुवाटारमा आयोजित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई भारतले सत्ताबाट हटाउन खोजेको र पार्टीका नेताहरु त्यसको एजेण्ट भएको गम्भीर आरोप लगाउनुभएपछि स्थायी समितिकौ बैठकमा अधिकांश सदस्यहरुले उहाँको राजिनामा मागेका थिए ।

स्थायी समितिको बैठकमा भएको राजिनामा मागबाट आक्रोशित प्रधानमन्त्रीले आषाढ १८ गते स्थायी समितिको बैठक चलिरहेको बेला पार्टीका अध्यक्ष,शीर्ष नेताहरु, प्रतिनिधिसभाका सभामुख,राष्ट्रिय सभाका अध्यक्ष कसैसंग परामर्श नै नगरीकन आफ्नो निवासको बैठककक्षमा क्याबिनेट मिटिड. गरेर संघीय संसदको बजेट अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि नेकपाभित्रको रडाको चरमोत्कर्षमा पुगेको थियो ।

त्यसैदिन देखि दुई अध्यक्षको बीचमा सहमति कायम गरी स्थायी समितिको बैठक सुचारु गर्ने नाममा बैठक स्थगित हुँदै आएको छ । त्यसयता प्रधानमन्त्रीले राज्ययन्त्रको दुरुपयोग गरी देशभर आफ्नो पक्षमा शक्ति प्रदर्शन गरेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन् ।

यही बीचमा देशमा बाढी र पहिरो आएपछि कार्यकर्तालाई उद्धार र राहतमा जुट्न आग्रह गर्दै २६ गते निर्धारित बैठक साउन २ गते बस्ने गरी स्थगित गरिएको थियो ।

साउन २ गते पनि दुई नेताहरुबीच सहमति कायम नभएपछि ३ बजे बस्ने गरि स्थगित गरिएको बैठक साउन ४ गतेको लागि सारिएको थियो । त्यसपछि अध्यक्ष द्धयबीच स्थायी समिति बैठक पहिले शनिवार सचिवालय बैठक गर्ने सहमति भएको थियो ।

दुवै पदबाट राजिनामा गर्ने कि एक व्यक्ति एक पदबाट सहमति खोज्ने भन्ने विषयमा आजको सचिवालय बैठकमा छलफल हुने संभावना छ ।

नेकपाका सचिवालयमा रहेका बहुमत सदस्यहरुले पार्टी भित्रको विवादले सरकारको काम कारबाही पनि प्रभावित भएको भन्दै सबै विवादको छिनोफानो केन्द्रीय कार्यसमितिबाट गर्न भनी केन्द्रिय कार्यसमितिको बैठक बोलाउने विचार पनि सार्वजनिक गरिरहेको बेलामा भएको सचिवालयको औपचारिक बैठकले के निर्णय गर्छ प्रतीक्षाको विषय भएको छ ।

यद्यपि सचिवालयले पार्टीलाई ध्रबीकृत गरेर विभाजोन्मुख अवस्थामा नलैजाओस भनी स्थायी समितिका सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक भावुक पत्र लेखेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।

Share Now

Leave a comment.