Prakash Adhikari July 21, 2020

प्रदीप बस्याल / बीबीसी न्यूज नेपाली

काठमाडौं, ६ साउन । परम्परागत समय तालिका अनुसारको नयाँ शैक्षिक सत्रको ३ महिना बितिसक्दा पनि सरकारी अधिकारीहरूले विद्यालय खुल्ने समयको आकलन समेत गर्न नसकेका कारण विद्यार्थीको पूरै सत्र खेर जाने संशय विज्ञहरुले गर्न थालेका छन्।

नेपालमा कक्षा १ देखि १२ सम्म झण्डै ७० लाख विद्यार्थीहरू छन् भने थप ७ देखि ८ लाख पूर्वकक्षामा रहेका छन्।

लकडाउनको अवधि लम्बिरहँदा थुप्रै स्थानीय सरकारहले आंशिक रूपमा भए पनि विद्यालय खोल्न दिनुपर्ने सुझाव दिन थालेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्।

“अझै पनि छिट्टै विद्यालय चलाउन सकिने अवस्था आएमा सार्वजनिक बिदा कटौती गरेर पूर्ति गर्ने सोचमा छौँ।”, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्नुहुन्छ, “तर ढिलो हुने अवस्थामा पाठ्यक्रम नै परिवर्तन गर्नेजस्ता विभिन्न विकल्पबारे सोच्नुपर्ने हुन्छ।”

विकल्प कस्ता छन् ?

वर्षमा १ हजार २५ घण्टा पढाइ हुनुपर्ने गरी अहिलेको पाठ्यक्रम बनाइएको छ।

तर सङ्क्रमणको कायम रहँदा अझै विद्यालय खुल्ने समय स्पष्ट छैन।

मन्त्रालय र कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा यतिखेर अनलाइनमार्फत् कक्षाहरू सञ्चालन गर्ने, शैक्षिक सत्र लम्ब्याउने, शैक्षिक सत्र नै रद्द गर्ने वा पाठ्यक्रम छोट्याउनेजस्ता विविध विकल्पमा छलफल भइरहेका छन्।

शिक्षाविद् विद्यानाथ कोइरालाले शैक्षिक सत्र लम्ब्याउने वा रद्द गर्ने कार्य विद्यार्थीहरूमाथि ‘अपराध’ हुने ठान्नुहुन्छ।

अनलाइन पढाइ

“संश्‍लेषित पाठ्यक्रम बनाउँदै विषयवस्तु नपढाएर अब अवधारणा पढाउन सक्यौँ भने हामी अझै पनि विद्यार्थीमाथि न्याय गर्न सक्छौँ’ , “कोइरालाले भन्नुभयो, “त्यसले गर्दा सबैखाले क्षमताका विद्यार्थीलाई समेट्न सकिन्छ। यसले विद्यार्थीलाई फरक(फरक ढङ्गबाट अध्ययन गर्दा समेत एउटा मूल्याङ्कन प्रक्रियामा समाहित गर्न सकिन्छ।”

अनलाइन कक्षालाई विकल्पका रूपमा लैजाने हकमा भने शिक्षा मन्त्रालयका अधिकारीहरू एकमत देखिन्नन्।

त्यसले विद्यार्थीमा हुने सिकाइ, उपलब्धि र प्रभावकारिताको मूल्याङ्कन गर्न सहज नहुने उनीहरूको भनाइ छ।

प्रवक्ता शर्मा भन्नुहुन्छ, ” अनलाइन कक्षाबाट शैक्षिक सत्रको पूर्ण पूर्ति हुँदैन। त्यो भनेको सहयोगी सामग्री मात्र हो।”

पढाउने तौरतरिका बदल्ने ‘अवसर’

अहिलेको तौरतरिकाले शैक्षिक सत्र रद्द हुने जोखिम ‘उच्च रहेको’ भन्दै शिक्षाविद् कोइराला भने अनलाइन कक्षालाई सबै विद्यार्थीमा पहुँच छैन भन्दैमा रोक्न नमिल्ने बताउनुहुन्छ।

‘त्यसका लागि बरू ठाउँ-ठाउँमा लाउडस्पिकरहरू सहितका प्रोजेक्टर वा टेलिभिजन राखेर त्यस्तो अभ्यासको सुरुवात गर्न सकिन्छ,”  कोइराला भन्नुहुन्छ .

छोटो समयमै अब केन्द्रीकृत रूपमा पाठ्यक्रम घटाउने वा छोटो पारेर जान कठिनाइ हुने चुनौती छन्।

कोइराला शिक्षकहरू स्वयम्‌लाई जिम्मेवारी दिँदै मौजुदा पाठ्यक्रममै विद्यार्थीका अनुभव समेटिने गरी पढाउनुपर्ने बताउनुहुन्छ।

कक्षा ११ र कक्षा १२ को शैक्षिक सत्र सुरु हुने समय बल्ल आउँदै गरेकाले त्यसतर्फ भने अझ केही साता पर्खने सुविधा रहेको बताइन्छ।

विश्वविद्यालयका कक्षाहरूमा समेत कक्षा १२ को नतिजाले असर गर्न सक्ने अवस्था छ।

कसरी सुरुवात गर्ने ?

स्थानीय अवस्था र आवश्यकता हेरेर कतिपय सुरक्षित देखिएका ठाउँमा कक्षाहरू सुरु गरेर हेर्ने अवस्थाबारे यतिखेर सरकारी अधिकारीहरू सोचिरहेको बताउँछन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलिया भन्नुहुन्छ, ‘त्यसको लागि स्वीकृति दिने एकनासको प्रक्रिया बनाउनेबारे हामी छलफल गरिरहेका छौँ।’

शिक्षा मन्त्रालय
मौजुदा पाठ्यक्रम अनुसार एक वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १८० दिन अध्ययन अध्यापन हुनुपर्छ।

थुप्रै विद्यालयहरू क्वारेन्टाइन र आइसोलेशन केन्द्र बनाइएकाले विद्यालय खुल्ने भए पनि ती स्थान तयार हुन केही समय लाग्नेछ।

‘अहिलेसम्म हामीले शैक्षिक सत्र सुरुवात नै गर्न सक्छौँ भन्ने गरी सोचिरहेका छौँ’ , प्रवक्ता शर्मा भन्नुहुन्छ, ‘तर सत्र नै रोकिएला भन्ने जोखिम समेत भएको छ।’

Share Now

Leave a comment.